माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ : प्रचण्ड

 मंसिर १, २०७८ बुधबार १९:३२:४९ | रासस
unn.prixa.net

फाइल फाेटाे

महाेत्तरी – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदाे चुनावमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुरमा आज बुधवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको हो ।

‘चुनावमा नागरिकले नक्कली जलपवालालाई बढार्नेछन्’, प्रचण्डले भन्नुभयो, ‘मधेश र मधेशी नागरिककाे मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी नागरिकले आउँदाे चुनावमा पहिलो मत दिएर हामीलाई नम्बर एक बनाउनेछन् ।’

यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उहाँको भनाइ छ । आफैँले दुई पटक मधेशी नागरिककाे हक र अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उहाँले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताउनुभयो ।

‘हामीले संविधान संशोधन गरेर मधेश मुद्दा सम्बाेधनकाे जमर्को गर्‍याैँ’, प्रचण्डले भन्नुभयो, ‘तर संविधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।’ त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गर्नुभयो । अहिले न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उहाँको भनाइ छ ।  

अध्यक्ष प्रचण्डले  रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गर्नुभयो । महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । समारोह (सभा) मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया