टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
चितवन – एक महिनाअघिकाे बेमाैसमी वर्षाका कारण चितवनमा दुई हजार पाँच सय ९१ दशमलव १८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । पूर्वी चितवन र माडीमा बढी क्षति भएको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार खैरहनीमा ७२८ दशमलव ०६ हेक्टर, रत्ननगरमा ७०१ दशमलव ३३ हेक्टर, भरतपुर महानगरमा ४१६ दशमलव ६६ हेक्टर, राप्तीमा ३०६ दशमलव ५० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यस्तै माडीमा २५० हेक्टर, कालिकामा १४८ दशमलव ६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । चितवनमा २७ हजार दुई सय ८१ हेक्टरमा धानखेती हुँदै आएको छ ।
गएकाे असोज २९ देखि लगातार चार दिनको झरीले पाकेको धान खेतमै डुबानमा परेको थियो । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी नगरपालिकामा धानबालीमा असर परेको हो । उहाँले समग्र धानबालीमा ९ दशमलव ४९ प्रतिशत नोक्सान भएको बताउनुभयो । उन्नत र हाइब्रिड जातका धानबालीमा असर पुगेको छ ।
उहाँले भन्नुभयो, ‘नौ हजार ७० मेट्रिक टन धान खानै अयोग्य हुने गरी नष्ट भएको छ ।’ विगतका वर्षमा जिल्लामा एक लाख पाँच हजार आठ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । वर्षाले धेरैजसाे धानबालीमा असर परेको छ । केही ढलेको, भिजेको र डुबेको विवरणको यकिन तथ्याङ्क नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सात वटै पालिकाबाट पूर्ण क्षतिको विवरण लिएर राहतका लागि प्रदेशको मन्त्रालयमा पठाइसकेका छौँ ।’ प्रति क्विन्टल दुई हजार आठ सय रुपैयाँका दरले अनुमान गर्दा झन्डै २५ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सान भएको योजना अधिकृत अर्यालले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले क्षतिका आधारमा किसानले राहत पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले राहत दिने घोषणा गरिसकेको छ, कार्यविधि आउनसाथ पालिकामार्फत राहत वितरण हुन्छ ।’ क्षतिको वर्गीकरण गरेर राहत वितरण गरिने उहाँले बताउनुभयो ।
उत्पादन लागतका आधारमा पूर्ण क्षति भएका धानबालीमा १० कट्ठासम्म ६५ प्रतिशत, ११ देखि ४० कट्ठासम्म ३९ प्रतिशत, ४१ कट्ठा बढीमा २० प्रतिशतसम्म राहत दिने सरकारको तयारी छ । यस्तै केही क्षति भएको हकमा उत्पादन लागतको २० प्रतिशत राहत दिने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।