मन्त्रालयकाे नीतिगत बाधा : एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख रुपैयाँ फिर्ता

 मंसिर ४, २०७८ शनिबार १३:२३:२९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाग्लुङ – धौलागिरी अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बाग्लुङेले पठाएको २८ लाख दुई हजार रुपैयाँ फिर्ता भएको छ ।

बाग्लुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त हुनुभएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो ।  ग्रामीण भेगमा फोर ह्वीलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उहाँको भनाइ छ ।

भन्सार छुटसहित ५५ लाख रुपैयाँ पर्ने त्याे एम्बुलेन्सका लागि थप २७ लाख रुपैयाँको खाँचो थियो । अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको हो ।

“मन्त्रालयले नीतिगत बाधा पनि फुकाउन सकेन, नागरिकले साझेदारी गर्छौं भन्दा पनि बजेट दिएन”, राना मगरले भन्नुभयो, “एम्बुलेन्स सेवाका लागि प्रवासीले गरेको सहयोग दुःखका साथ फिर्ता गर्नुपर्ने स्थिति आयो ।”

अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्वील एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो । ८० लाख रुपैयाँ पर्ने त्याे एम्बुलेन्स भन्सार छुटमा २८ लाख रुपैयाँमा आउने भएपछि दाताको मात्रै रकमले किन्न पुग्थ्यो । स्थानीय तह, प्रदेश हुँदै अगाडि बढाइएको एम्बुलेन्स खरिदको प्रस्ताव र सिफारिस सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेर रोकिएको राना मगरले बताउनुभयो ।

मन्त्रालयका पदाधिकारीले बागलुङका हकका विशेष निर्णय गरेर भए पनि टु ह्वील एम्बुलेन्स खरिदका लागि अनुमित दिने बताए पनि निर्णय नदिई अल्झाएर राखेको उहाँको गुनासो छ ।

“मन्त्रालयमा धेरैपटक धायौँ, पछिल्लोपटक एम्बुलेन्स हेर्ने स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइमा पनि सोधखोज गर्याैँ तर कुनै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “मन्त्रालयले टु ह्वील एम्बुलेन्स किन्न पनि नदिने र फोर ह्वीलका लागि बजेट पनि नथप्ने भएपछि दाताको पैसा फिर्ता गर्ने निर्णयमा पुग्यौँ ।”

गएकाे बैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि पनि गएकाे असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन । समितिका सदस्य सचिवसमेत रहनुभएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले टु ह्वील एम्बुलेन्स खरिद गर्न नीतिगत बाधा देखिएको र फोर ह्वीलसहितको सुविधायुक्त एम्बुलेन्सका लागि बजेट अपुग भएको बताउनुभयो ।

एम्बुलेन्स खरिदका लागि अघिल्लो व्यवस्थापन समितिले पहल लिएको र दाताबाट आएको रकम पनि अस्पतालको खातामा नआई निवर्तमान अध्यक्षमार्फत नै त्यसको सहजीकरण भएको उहाँको भनाइ छ । अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनका लागि मन्त्रालयसँग बजेट माग र समन्वयको काम भइरहेको मेसु पोखरेलले बताउनुभयो । 

बागलुङ–अष्ट्रेलिया कमिटीले सो रकमबारे सहयोग दातालाई जानकारी गराइ कमिटीकै मातहत राखिने भएको छ । दुई सय शय्याको उप-प्रादेशिक अस्पतालका रुपमा घोषणा गरिएको धौलागिरि अस्पताल अहिले पनि थोत्रो एम्बुलेन्सका भरमा छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया