धाैलागिरि अस्पतालमा पहिलो पटक पाठेघरको शल्यक्रिया

 मंसिर ४, २०७८ शनिबार २०:१:३८ | रासस
unn.prixa.net

बाग्लुङ - धाैलागिरि अस्पतालमा पहिलोपटक पेट चिरेर पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

पाठेघरबाट रगत बग्ने, तल्लो पेट दुख्ने लगायत समस्याबाट ग्रसित बाग्लुङ नगरपालिका–५ की ३६ वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा केशव आचार्य नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । 

अस्पतालका एनेस्थिया विशेषज्ञ डा नवीन पौडेल, वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराईलगायत स्वास्थ्यकर्मी शल्यक्रियामा सम्मिलित हुनुहुन्थ्यो । चार सन्तानकी आमा रहेकी ती महिला शल्यक्रियामार्फत पाठेघर निकालिएपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेको डा आचार्यले जानकारी दिनुभयो ।

'लामो समयदेखि औषधिपचार गर्दा पनि निको नभएपछि पेट चिरेर गरिने शल्यक्रियामार्फत उहाँको पाठेघर निकालेका हौँ', उहाँले भन्नुभयो । यस प्रकृतिको शल्यक्रिया धाैलागिरि क्षेत्रमै पहिलो पटक भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट शैलेन्द्र विक पोखरेलले बताउनुभयो । 'यो पाठेघरको समस्यामा गरिने मेजर शल्यक्रिया हो, दक्ष चिकित्सक, तालिमप्राप्त स्वास्थ्यकर्मी र उपकरण व्यवस्थापनपछि सफलतापूर्वक शल्यक्रिया सेवा सुरु भएको छ', उहाँले भन्नुभयो । 

यसअघि पाठेघरको शल्यक्रियाका लागि बिरामीलाई ठूला अस्पताल पठाउनुपर्ने अवस्था थियो । अब भने यहीँ सहज रुपमा पाठेघरको उपचार हुने बताइएको छ । जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै हुन थालेपछि बिरामीलाई पोखरा, काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालले गएकाे असोजमा पहिलोपटक जोर्नी प्रत्यारोपण गरेको थियो ।

बाग्लुङ–१० की ८६ वर्षीया तुलसा थापाको देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएपछि जोर्नी प्रत्यारोपण गरिएको हो । त्यसलाई चिकित्सकीय भाषामा ‘नेक अफ फिमर’ भनिन्छ ।

दक्ष चिकित्सक र स्वास्थ्य उपकरणको उपलब्धता बढेसँगै अस्पतालले शल्यक्रियालगायत स्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै लगेको छ । 'सर्जिकलका उपकरण थप्नेदेखि स्वास्थ्यकर्मीलाई तालिममार्फत दक्ष बनाउनेमा अस्पतालले विशेष ध्यान दिएको छ', मेसु पोखरेलले भन्नुभयो । 

पछिल्लो समय अस्पतालमा हाडजोर्नीको शल्यक्रिया धेरै हुने गरेको उहाँको भनाइ छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषित धाैलागिरि अस्पताललाई त्यही अनुसारको स्वास्थ्य सेवा र सुविधा थप्नुपर्ने चुनौती छ। अस्पतालले अझै पनि दरबन्दीअनुसार मानव संसाधन र स्वास्थ्य उपकरणको अभाव झेल्दै आएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया