पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन्

 पुष १३, २०७८ मंगलबार १६:२४:३३ | रासस
unn.prixa.net

बझाङ – सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलो पटक आरोहण असफल भएको थियो । हिमालसँग मानव सम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (सात हजार ३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लो पटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए । 

पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहण दलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुई जना स्पेनका आरोही पाँच हजार पाँच सय मिटरसम्म पुगेर फर्केको शेर्पा पथप्रदर्शक पेछुम्बे शेर्पाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्राविधिकरूपमा कठिन हिमाल रहेछ, त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौँ ।’ आरोही सक्षम हुने भए आरोहण सफल हुने उहाँको विश्वास छ । शेर्पा गाइडले एक हजार दुई सय मिटर डोरी टाँगेर त्याे समिटसम्म बाटो बनाए पनि स्थानीय चार महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल भएको शेर्पाले बताउनुभयो । 

सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीविना चढ्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडले अनुभव गरेका छन् । पश्चिम क्षेत्रमा एक सय बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिए पनि अझै आरोहण हुन सकेको छैन । त्यसैले आरोहण हुन नसकेका हिमालको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नुपर्ने साइपाल हिमाल आरोहण दलका बेसक्याम्प मेनेजर भोजराज भट्टको भनाइ छ ।

सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यका साथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निःशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । केही वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन सुरु गरेको पर्यटन विभागले जानकारी दिएको छ । सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्कमा चार लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका चार सय तीन हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीको भनाइ छ । पश्चिम क्षेत्रमा झन्डै डेढ सय हिमाल छन् तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उहाँको सुझाव छ । 

स्थानीयवासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै पछिल्लो पटक गएका पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए । आरोहण दलका सदस्य र स्थानीयसहित ३७ को टोली आधारशिविरतर्फ गएको थियो । आरोहण दलमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा. जर्ज र एडुर्ने पासावन रहेका थिए । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया