भिडभाडजन्य गतिविधिमा रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थाले

 पुस २७, २०७८ मंगलबार ७:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएपछि मेला महोत्सव स्थगित हुन थालेका छन् । 

कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि सरकारले सार्वजनिक ठाउँमा हुने भिडजन्य गतिविधिमा रोक लगाएको छ ।

गृह मन्त्रालयले कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा भेला तथा मेला महोत्सव गर्न रोक्ने निर्णय कार्यान्वयन गरेको हो । यो निर्णयसँगै विभिन्न ठाउँमा तय भएका मेला महोत्सव स्थगित भएका छन् ।

अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि हुन लागेको कैलालीको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटाले बताउनुभयो । आजदेखि माघ ९ गतेसम्म ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ गर्ने तयारी थियो । यस्तै भोलिदेखि हुन लागेको पोखराको ‘पोखरा महोत्सव’ पनि स्थगित भएको छ । भोलिदेखि माघ ९ गतेसम्म हुने ११ औं संस्करणको पोखरा महोत्सव स्थगित गरिएको हो ।

महोत्सव अर्को सूचना नआएसम्मका लागि स्थगित भएको आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । यस्तै चितवनको देवघाटमा हुने माघे संक्रान्ति मेला समेत स्थगित भएको छ । मेलामा देशैभरका भक्तजनको भेला हुने भएकाले मेला स्थगित गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा हुन लागेका सबै मेला महोत्सव स्थगित गरिएको छ । गृह मन्त्रालयले जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव रोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया