हुम्लामा झण्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु : एक व्यक्तिले चार किलो मात्रै चामल पाउने

 पुष ३०, २०७८ शुक्रबार १८:०:० | रासस
unn.prixa.net

हुम्ला - नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झण्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । 

आजदेखि खाद्यान्न वितरण थालिएको हो । एक व्यक्तिले चार किलो मात्रै चामल पाउने खाद्य व्यवस्था कम्पनी शाखा हुम्लाले जनाएको छ ।  

समयमै चामल ढुवानी नहुँदा हुम्लाका नागरिकले अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदै आएका थिए । हरेक महिना पाउनुपर्ने चामल समयमै ढुवानी नहुँदा नागरिक मर्कामा परेका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा झण्डै ६० हजार नागरिक समस्यामा परेका छन् । 

तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । 

लिमिटेडले गोदाममा चामल मौज्दात जम्मा पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारीमा वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन भएको छैन । 

तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नुपरेको थियो । चामल लिन लिमिटेडको शाखामा पुग्दा आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । 

नागरिकता पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताउनुभयो । आजदेखि ४ किलो चामल वितरण गरेको भए पनि पूरै महिनाको चामल पाउनुपर्ने माग गरी सिमकोट १ र २ का नागरिकले आन्दोलन थालेका छन् । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया