पाल्पाकाे रानीमहल सङ्ग्रहालयमा परिणत

 माघ १, २०७८ शनिबार १२:४५:५१ | रासस
unn.prixa.net

फाइल तस्बिर

पाल्पा – नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका याे दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । 

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो । १५ लाख रुपैयाँ बाट थालनी भएको काम हाल करिब ३५ देखि ४० लाख रुपैयाँ खर्च भइसकेको बताउनुहुँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताउनुभयो ।  उहाँले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताउनुहुन्छ ।

नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको निरन्तर मेहनतले दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्न सकिएको बताउनुभयो । उहाँले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको बताउनुभयो । 

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ । विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए । चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया