कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

 माघ ५, २०७८ बुधबार १०:४२:१ | रासस
unn.prixa.net

कैलाली - भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेहरुको सङ्ख्या बढ्दै गएकाे छ । 

कामको सिलसिलामा भारत गएका नेपाली भारत कोरोना जोखिम बढेसँगै घर फर्किन थालेका छन् । 

भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो लकडाउन हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो ।

'भर्खर काममा लागेको थिएँ, कोरोनाको सङ्क्रमण बढेपछि छाडेर फर्किनुपर्यो', उहाँले भन्नुभयो, 'पहिलो वर्ष महिनौ लकडाउनमा काम नगरि बस्दाको पीडालाई सम्झेर फेरि पनि त्यस्तै हुने हो कि भन्ने डरले घर फर्केको हुँ ।'

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् । खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि त्यही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उहाँले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताउनुभयो । शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ । 

'कोरोना परीक्षण गर्ने गरेका छौँ, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौँ', रोकायाले भन्नुभयो, 'भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौँ, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौँ ।'

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको सङ्क्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताउनुभयो । सत्ती भन्सार कार्यालयमा रहेकाे हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

'पहिलेभन्दा अहिलेको सङ्क्रमणदर उच्च छ, सबैले स्वास्थ्य सावधानी अपनाउन सकेमात्रै हामी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित हुन सक्छौँ, सीमानाकामा सावधानी अपनाउन आवश्यक छ । भारतबाट आउनेलाई सीमामै निगरानी गर्न सके सङ्क्रमण गाउँगाउँमा फैलिने जोखिम कम गर्न सकिन्छ', रावलले भन्नुभयो ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको बताउनुभएको छ । उहाँले नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी  खटाइएको बताउनुभयो ।

'दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कबाट सेवा प्रवाह हुँदै आएको छ । भारतबाट आउने तथा जानेको तथ्याङ्क राख्ने गरेका छौँ ।' खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । 'कोरोना जोखिम कम गर्न प्रयासरत छौँ', रावलले भन्नुभयो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया