'कल सेन्टर' ले वैदेशिक राेजगारीमा गएकाहरूकाे समस्या तत्काल सम्बाेधन गर्नेछ : मन्त्री श्रेष्ठ

 माघ १६, २०७८ आइतबार १४:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी पुन: 'कल सेन्टर' स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सेवाग्राहीको गुनासो सुन्दै २४ घण्टे कल सेन्टरको पुन: शुभारम्भ गर्नुभएको हो ।

यस अगाडी वैदेशिक रोजगार बोर्डको पहलमा मन्त्रालयमा राखिएको कल सेण्टर प्रभावकारी नभएपछि बोर्डले आफ्नै भवनमा कल सेण्टर सञ्चालन गर्दै आएको थियाे । तर बोर्डमा रहेको कल सेण्टरले अपेक्षा अनुसार काम नगरेको भन्दै श्रम मन्त्रीट श्रेष्ठले मन्त्रालयमै पुन: कल सेण्टर स्थापना गर्नुभएकाे हाे ।

कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुन्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ ।

 वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढङ्गले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैँले कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘याे कल सेन्टरले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासको तत्काल सम्बोधन गर्नेछ । विगत एक महिनायता भिजिट भिसामा जानेहरूलाई बिचौलिया वा भनौँ न दलालहरूले अलपत्र पारेपछि पनि ती गुनासाहरूलाई तत्काल सम्बोधन गर्न मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो ।’

मन्त्री श्रेष्ठले झन्डै एक महिनायता भिजिट भिसामा गएकाहरूलाई बिचौलियाहरूले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुने गरी काम गर्न पनि कल सेन्टरको आवश्यकता महसुस गरिएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरूबाट ठगी गरिएको, असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि बिचौलियाहरूलाई अपिल गर्नुभयो । उहाँले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

६ जना कर्मचारीले कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन् । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले याे कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै लैजाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

याे कल सेन्टरमा वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टाेली पनि परिचालन गर्ने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया