अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने
पुस २६, २०८१ शुक्रबार
चितवन – हरेक सोमवार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ ।
यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर सरसफाइको निरन्तरका लागि हो । कमजोरी पहिचान गर्ने, त्यसको समाधानको खोजी गर्ने मात्रै होइन, सफाइको दीर्घकालीन समाधानका बारेमा पनि छलफल चल्ने गर्दछ । गएको वर्षदेखि सुरु भएको यो अभियानमा अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, मेसु प्रा. डा. कृष्णप्रसाद पौडेलसहित अस्पतालका कर्मचारी र विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति हुने गर्दछ । पछिल्ला केही हप्ता मेसु पौडेलको नेतृत्वमा अस्पतालका कर्मचारी मात्रै सहभागी हुँदै आएका छन् ।
पौडेलले भन्नुभयो, ‘हामीले यस अभियानलाई निरन्तरता दिएका छौँ, जसले अस्पतालको सरसफाइमा सहयोग पुगेको छ ।” आफू स्वयम् उपस्थित हुँदा सरसफाइकर्मी र अन्य कर्मचारीसमेत सक्रिय रूपमा सहभागी हुने गरेको उहाँको भनाइ छ । पौडेलले अगाडि थप्नुभयो, ‘एक दिनको सफाइ मात्रै भएको छैन, सरसफाइकर्मीलाई हौसला पनि मिलेको छ ।’
सरसफाइका कर्मचारीसँग अन्य समयमा भेट नहुने बताउँदै उहाँले भन्नुभयो, ‘उनीहरूको गुनासा सुन्ने, सम्बोधन गर्ने काम यही अभियानबाट भएको छ ।’ सरसफाइसँगै बसेर चिया नास्ता खाँदा उनीहरूले आफ्ना गुनासा राख्ने अवसर पाएको पौडेलको भनाइ छ । यस अभियानले अस्पताललाई सफा राख्नुपर्छ भन्ने जागरण सिर्जना भएको उहाँ बताउनुहुन्छ ।
सरकारी अस्पताल भएकाले सेवाग्राहीले फोहर विसर्जनलाई महत्त्व नदिने हुँदा ठाउँठाउँमा फोहर हुने गर्दछ । अभियान सुरु गर्नुअघि अस्पताल फोहर हुने गरेको निकै धेरै गुनासो आउने गरेकोमा केही सम्बोधन भएको पौडेलले जानकारी दिनुभयो । गएको वर्ष सुरुवाती चरणमा सामाजिक सङ्घसंस्था र प्रहरीसँग सहकार्य गरेर अध्यक्ष अधिकारीको नेतृत्वमा अभियान थालनी गरिएको हो । पहिला हरेक शनिवार सरसफाइ गर्ने गरिन्थ्यो । यो अभियानमा नेपाल प्रहरीसँगै, वे ग्रुप नेपाल, सन्देश फाउण्डेशन, महानगर युवा सञ्जाल, द युनाइटेड चितवन, वार्सा नेपाललगायत अन्य विभिन्न सङ्घसंस्था सहभागी हुने गरेका थिए ।
पौडेल सुपरिन्टेन्डेन्ट भएपछि भदौदेखि यो अभियान थालिएको हो । पछिल्ला केही हप्ता अस्पतालबाहिरका अभियन्ता सरसफाइमा सहभागी भएका छैनन् । पौडेलले भन्नुभयो, ‘निकै चिसो भएकाले अभियन्ता नआएको हुन सक्छ ।’ अस्पतालभित्र सरसफाइका लागि भनेर ९२ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीलाई अन्य काममा लगाइने हुँदा सबैले सरसफाइमा ध्यान दिन पाउँदैनन् ।
‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन’ ‘फोहरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन्’ भन्ने नाराका साथ अभियान सञ्चालन हुँदै आएको छ । सुरुवाती चरणमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसमेतको उपस्थिति हुने गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष अधिकारी अस्पताल सफाइ गर्ने अभियान आफ्नै नेतृत्वमा थालिएको बताउनुहुन्छ । यसबाट सबै सफा नभए पनि सन्देश प्रवाह भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘धेरै मानिसको आवतजावत हुने भएकाले फोहर हुन्छ, अस्पतालका सबै ठाउँमा नियमित सरसफाइ छुट्न सक्ने हुँदा अभियान सार्थक भएको छ ।’
अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवम् प्रदेश सभा सदस्य विजय सुवेदी फोहरमैला व्यवस्थापनका क्षेत्रमा अस्पतालमा राम्रो काम भइरहेको बताउनुहुन्छ । अस्पतालमा फोहर व्यवस्थापन व्यवस्थित नभएसम्म बाहिरबाट अभियन्तासहितको सहयोग आवश्यक पर्ने भन्दै उहाँले आउँदा दिनमा फोहरमैलाको व्यवस्थापन एक प्रणालीमा आएपछि अभियानको आवश्यकता नहुने बताउनुभयो । अहिले अस्पताल प्रमुख स्वयम् उपस्थित भएर नियमित सरसफाइ गर्नु सकारात्मक कार्य भएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।