एमसीसीबारे अमेरिकातिर फर्केर एउटा र नेपालतिर फर्केर अर्काे कुरा गर्ने दाेहाेराे चरित्र देखियाे : ज्ञवाली

 माघ २३, २०७८ आइतबार १९:५२:३० | रासस
unn.prixa.net

रुपन्देही – नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंदमा छलफल हुनुपर्ने बताउनुभएको छ । उहाँले एमसीसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसदमा पेस गरेर छलफल हुनुपर्ने बताउनुभयो । 

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आज आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीको विषयलाई सभामुखले संसदमा आउने ढोका बन्द गर्न नहुने भन्दै यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय सार्वभौम संसदमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँले सदनमा एमसीसीले प्रवेश पाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो ।

नेता ज्ञवालीले एमसीसी सम्झौताका विषयमा सरकार र सत्ता गठबन्धनका केही नेताले गिजोल्ने काम गरिरहेको उल्लेख गर्दै पाँच महिनासम्म समय मागेर अहिले अन्योल सिर्जना गर्नु अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतासमेत सङ्कटमा पार्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकातर्फ फर्केर एउटा कुरा र नेपालतर्फ फर्केर अर्को कुरा गर्ने दोहोरो चरित्र देखियो ।’ 

उहाँले एमसीसी सम्झौता गर्दा तत्कालीन अवस्थामा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस–माओवादी संयुक्त सरकार रहेको भन्दै अहिले एमसीसीलाई टुङ्गोमा पुर्‍याउने काम यो गठबन्धनको जिम्मेवारी भएको बताउनुभयो । 

नेता ज्ञवालीले स्थानीय तह लोकतन्त्रको आधारभूत स्तम्भ भएकाले कुनै बहानाबाजी र अलमल नगरि चाँडै स्थानीय तहको चुनावकाे मिति घोषणा गरिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको चुनाव समयमा नभए लोकतन्त्र धरापमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई चुनाव टार्ने कुनै पनि बहानाबाजी मान्य छैन ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया