चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी

 माघ २५, २०७८ मंगलबार २०:४०:२८ | रासस
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच ठाउँमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ । वर्षैभरि व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदुर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा एक करोड रुपैयाँ हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । अहिलेसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठूला ढड्डी र मिचाहा प्रजाति फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ । 

संरक्षण अधिकृत आचार्यले घाँसे मैदान आफैँ बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाति, ढड्डी र बुट्यान धेरै पलाउँदा नियमित व्यवस्थापन गर्नुपरेको हो । निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्रपछि निकुञ्जको घाँसे मैदान बनेका हुन् । 

निकुञ्जभित्र आठ हजार नाै सय ९५ दशमलव २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदै छ । यस वर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने तीन सय आठ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदै छ ।

यस वर्ष घाँसे मैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३८ लाख ३५ हजार रुपैयाँ बजेट निकासा भएको छ । तिवारीका अनुसार गएकाे वर्ष सात सय हेक्टर घाँसे मैदान निर्माण र चार सय हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष तीन करोड ५० लाख र व्यवस्थापनका लागि ९९ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ६ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । त्याे आवमा तीन करोड १० लाख रुपैयाँ खर्च गरिएको थियो । व्यवस्थापनमा २८ लाख ९९ हजार रुपैयाँ खर्च भएको निकुञ्जले जनाएको छ । त्यही वर्ष ५७ दशमलव ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट अत्यन्त कम भयो ।’ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसे मैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताउनुभयो । घाँसे मैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जले खर्च गर्नुपर्ने उहाँको भनाइ छ । निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एक सिङ्गे गैँडा र बाघका प्रजाति आहारा खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उहाँको भनाइ छ । 

मानव र वन्यजन्तुबीचकाे द्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थित हुनुपर्ने विज्ञ बताउँछन् । निकुञ्जमा ६ सय ९४ गैँडासँगै बाघका प्रजाति, चित्तल, जरायो, बँदेल जस्ता वन्यजन्तुका लागि घाँसे मैदान आवश्यक पर्दछ । कोभिडका कारण पर्यटक घटेसँगै मध्यवर्तीमा खर्च हुने रकम कम भएको छ । यसका कारण मध्यवर्ती सामुदायिक वनले घाँसे मैदानमा खर्च गर्नका लागि बजेट अभाव छ ।

पर्या–पर्यटनमा काम गर्ने सामुदायिक वनमा पर्यटक घुम्न कम आउँदा आम्दानी हुन पाएको छैन । यसले पनि दुर्लभ वन्यजन्तुको वासस्थान व्यवस्थापन राम्रो हुन सकेको छैन ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया