गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

 फागुन ५, २०७८ बिहीबार १९:३४:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि फाइदा नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज बिहीवार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै चुनाव लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताउनुभयो । 

‘कांग्रेसले एक्लै चुनाव लड्छौँ भनेर मात्र हुँदैन, कम्युनिस्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन’, उहाँले भन्नुभयो, ‘एक्लै चुनाव लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।’ कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उहाँले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । ‘समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो । भएका कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उहाँले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उहाँले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गर्नुभयो । 

यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र चुनाव जित्न सकिने बताउनुभयो । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेलगायतले बोल्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया