टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट : नेपालले आज ओमानसँग खेल्दै

 फागुन ६, २०७८ शुक्रबार ६:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ ।

खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् ।

दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ ।

आजको खेल हारेमा बाँकी दुई खेल जित्नै पर्ने दबाब हुनेछ । ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन् ।

नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टी–२० वरीयतामा १३ औँ स्थानमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले पुनः नेपाल विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया