बैतडी टिपर दुर्घटना : पाटन नगरपालिकामा आज शोक बिदा

 फागुन १०, २०७८ मंगलबार १०:४७:१८ | रासस
unn.prixa.net

बैतडी - बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । हिजाे दिउँसाे भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको ज्यान गएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

दुर्घटनामा विद्यार्थीको ज्यान गएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सोमवार दिउँसाे भएको टिपर दुर्घटनामा परि तीन जनाको घटनास्थलमै ज्यान गएकाे र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा ज्यान गएकाे थियाे । ज्यान गुमाउनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेलधुरा अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् । घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन् ।  उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा ज्यान गुमाएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेलधुरा अस्पतालमा रहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नंको टिपर हिजाे दिउँसाे भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो ।

विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो ।  दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए ।

टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो।   

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ishwari Gaire

    Feb. 22, 2022, 12:26 p.m.

    So sad😢😢

  •  0 Reply

तपाईको प्रतिक्रिया