अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
रसुवा – रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रूपमा गोसाईंकुण्डको धार्मिक महत्त्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुने भएकाले यात्रा सहजताका लागि पछिल्लो समय धेरैजसाे यात्रुले गोसाईंकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन् ।
स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाईंकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाईंकुण्ड समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र त्याे समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् ।
गोसाईंकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिविनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन/चार दिनको समय लाग्ने एवम् पैदल तथा हवाई मार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् ।
हेलिकप्टरले काठमाण्डाैकाे एअरपोर्टबाट २६ मिनेटमै गोसाईंकुण्ड पुर्याउँछ । दर्शनका लागि आधा घण्टाभन्दा बढी थप समय दिन्छ । बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने गरेको यात्रुहरू बताउँछन् ।
पैदल मार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाईंकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएका छन् । गोसाईंकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।
हवाई मार्गबाट गोसाईंकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, छ्याङछ्याङ झरिरहेका झरना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाई यात्रु काठमाण्डाैकाे सीतापाइलामा रहेकाे जनउद्वार माविका शिक्षक राजु केसीले बताउनुभयो ।
हेलिकप्टर गोसाईंकुण्डको डिलमा अवतरण गरेपछि भगवान् शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र हेलिप्याडको डिलबाटै केही तल रहेका सरस्वती एवम् भैरव कुण्डसमेत देखिने भएकोले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसी बताउनुहुन्छ । तामाको दियोमा गाईको घिउ राखेर बत्ती बाल्ने, कपुरले धूपदीप गर्ने, बसाह र त्रिशूल, जटा भएको नरिवल एवम् पहेँलाे वस्त्र चढाइ जौ, तिल, केसरी, बेलपत्र र फूलले पूजाआजा गर्नेपर्ने चलन रहेको पुजारी टङ्कप्रसाद ढकालले बताउनुभयो । समुद्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान् महादेव गोसाईंकुण्डमा शिवजी हुनु भएकोले एक पटक भने पनि तीर्थ जानुपर्ने मान्यता रहिआएको छ ।
प्रत्येक वर्ष गङ्गा दशहरा र जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २० औँ हजार भक्तजन त्याे क्षेत्र पुग्ने गरे पनि विगतको कोरोना सङ्क्रमण भएयता हवाई यात्राको आर्कषण बढेको हो । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेकाे गोसाईंकुण्ड तीर्थमा डबुल्की मारेपछि शरीरका रोग हट्ने र पूजाआजा गरेपछि मनोकाङ्क्षा पूरा भइ नयाँ सोच विचार आउने, घर परिवारमा सुख, शान्ति बढ्ने विश्वास रहिआएको छ ।
पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखन्छ । पोखरीमा हिउँ जमेको समयमा हवाई मार्गबाट गएका भक्तजनले भगवान् विराजमान रहनुभएको पवित्र कुण्डमा हिँड्ने गरेको पाइएकोले यस्ता कार्य नर्गन अनुरोध गरिएको छ । धार्मिक मान्यताअनुसार कुण्डमाथि हिँड्दा पुण्य प्राप्त नहुने र अर्कोतर्फ जमेको हिउँमाथि हिँड्दा हिँड्दै फुटेर गाडिन सक्ने समेत सम्भावना हुने भएकाले गोसाईंकुण्डको ताल–माथि नहिँड्न पुजारीले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।