‘२०७४ काे चुनावमा सबै कम्युनिस्ट एक हुँदा कांग्रेसले हारेकाे हाे’

 फागुन २६, २०७८ बिहीबार १४:२८:२२ | रासस
unn.prixa.net

पर्सा – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे स्थानीय तहकाे चुनावमा गठबन्धनसहित जाने विषयमा छलफल भइरहेकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस पर्साले आज बिहीवार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको चुनावमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले गठबन्धनसँग मिली चुनावमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनावमा प्रतिस्पर्धा गर्ने विषयमा दलहरूसँग छलफल चलिरहेको बताउनुभयो ।

विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिस्ट एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै देउवाले गठबन्धनसहित चुनावमा जाने विषयमा छलफल भइरहेको समेत बताउनुभयो ।

यसैबीच उहाँले भर्खरै संसदबाट पारित भएको अमेरिका सहायता एमसीसी सम्झौताले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभइ अनुदान भएकाले त्याे रकमलाई सदुपयोग गर्न सकिए देश विकास चाँडै गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभइ विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र देशमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल देशकाे बीचमा रहेको नेपालले देशको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताउनुभयो ।

विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले पार्टीमा स्वागत गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया