एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

 फागुन २९, २०७८ आइतबार १३:३४:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

माेरङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । 

प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आज आइतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवराेध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरूबीच गठबन्धन पनि हुन सक्ने बताउनुभयो ।   

‘आउँदाे चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरूको प्रतिस्पर्धा हुन्छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका पार्टीहरूबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाली कांग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठनबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भन्नु भएकाले यसलाई गठबन्धनले सकारात्मक रूपमा लिएको बताउनुभयो ।    

उहाँले एमाले नेतृत्वसँग संसद् अवराेध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रूपमा संसद् अवराेधकाबीच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को चुनाव सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिनुभयो ।   

मोरङको रङ्गेली नगरपालिकाका मेयरले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जाने क्रम चलिरहन्छ, त्यो उहाँहरूको व्यक्तिगत स्वार्थका कारणले भएको स्पष्ट पार्नुभयो । 

उहाँले तत्काल एमालेसँग चुनावमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै कांग्रेससँग कतिपय ठाउँमा गठबन्धन गरी जान सकिने बताउनुभयो । उहाँले माओवादी विचारधारा मिल्ने वामपन्थी दलसँग गठबन्धन गरी चुनाव जान सक्ने बताउनुभयो । 

अध्यक्ष दाहालले एमसीसीको व्याख्यासहितको सम्मानजनक कार्यान्वयन हुने बताउँदै राष्ट्रिय स्वाधीनतासहित विकासमा यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया