पार्टीको ‘लाइफ एन्ड डेथ’ को सवाल छ, सबै तागत चुनावमा केन्द्रित गरौँ : प्रचण्ड

 चैत २, २०७८ बुधबार १९:२०:१७ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ । 

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई आज बुधवार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले आउँदो चुनाव पार्टीका लागि जीवन मरणको लडाइँ भएकाले सबै तागत चुनावमा केन्द्रित गर्न आग्रह गर्नुभयो । 

राष्ट्रिय स्वाधीनताको रक्षा, देश र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताउनुभयो । विपक्षीले यसअघिका चुनावका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उहाँले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको, प्रतिक्रान्तिको खतरा तीव्र गतिमा अगाडि आएको उल्लेख गर्दै उहाँले गएको वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको बताउनुभयो । ‘हामीले गएको वर्षको असंवैधानिकरूपमा गरिएको संसद् विघटनलाई जनताको ‘हुङ्कार’बाट पराजित गर्‍यौँ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘आउँदो चुनावमा पनि सबै तागत लगाएर प्रतिगामी तत्त्वलाई परास्त गर्नुपर्छ ।’ 

आउँदो चुनावमा माओवादीलाई कमजोर बनाउने र साम्राज्यवादी देशमा जस्तै ‘टु पार्टी सिस्टम’ लागू गर्ने षड्यन्त्र भइरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘अहिले दुई वटा बुर्जुवा पार्टी मात्र बनाउने कसरत भइरहेको छ, क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ, आउँदै गरेका सबै चुनाव हाम्रा लागि सामान्य मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एन्ड डेथ’को लडाइँ भएर आएको छ ।’   

गएको  पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गएको फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्धरूपमा चुनावमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उहाँले पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर चुनावमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने चुनाव अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सबै नेता अब पालिका केन्द्रित हुनुपर्ने बताउनुभयो । 

यसैबीच उहाँले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया