अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडक खण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडक खण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडक खण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताउनुभयो । प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडक खण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको अध्यक्ष राईले बताउनुभयो । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।
अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् । प्रवेशमार्गका स्थानीयवासीले गएकाे मङ्गलवारदेखि भौतिक निर्माणका काम बन्द गरिदिएका छन् । छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद केही वर्षदेखि कायम छ । यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे।
आयोजनाको पावरहाउस पुखुवामा भारतको पटेल इञ्जिनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ । छयाङकुटी–पुखुवा मुआब्जा सङ्घर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूले बताए । छयाङकुटी–पुखुवा सडक खण्ड २८ दशमलव ५ किमी रहेको छ ।
कुल एक खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको आयोजनाको काम सन् २०२४ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युतकाे निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ ।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।