सय वर्षपछि ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा दोलखामा सञ्चालन

 चैत २३, २०७८ बुधबार ८:३०:५७ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै - एक सय वर्षपछि ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा दोलखामा सञ्चालन भइरहेको छ। त्रिशक्ति भवानीलाई सोमवार धुलिखेलबाट दोलखा लगिएका हो भने सोमवारदेखि दोलखामा  हरिसिद्धि भवानीको नाच सञ्चालन भएको हो।  

हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको जात्राको अवसरमा देवी नाच स्थानीय क्षेत्रमा मात्र नभएर काठमाण्डौ, ललितपुर, पनौती, दोलखा लगायत नेपालमण्डलको विभिन्न ठाँउमा प्रदर्शन गर्ने परम्परा छ। त्यही परम्परा अनुसार हरेक १२ वर्षको जात्रामा दोलखामा पनि जात्रा सञ्चालन गर्नुपर्ने भएता पनि विभिन्न कारणले त्यहाँ हुन नसकेकोमा एक सय वर्षपछि यस वर्षमा दोलखामा जात्रा सञ्चालन भएको हो।

भोलिसम्म दोलखामा जात्रा सञ्चालन हुनेछ भने त्यहाँबाट भोलि काठमाण्डौको पशुपतिमा ल्याइनेछ । पशुपतिमा २७ गतेसम्म जात्रा सञ्चालन गरेर त्यहाँबाट काभ्रेपलाञ्चोकको पनौतीमा लगिनेछ ।  यसैबीच पनौतीमा आउँदो २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरिसिद्धि जात्राको तयारी तीव्र पारिएको छ ।

६० वर्षदेखि पनौतीमा मनाउन थालिएको यो जात्रा विभिन्न कारणले रोकिएकोमा यसवर्ष सञ्चालन हुन लागेको हो ।  २८ गतेदेखि वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरिसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताउनुभयो ।

जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन भएकोमा अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ ।

२०६६ सालमा जात्रा आयोजना गर्न पाँच लाख रुपैयाँ खर्च भएको थियो । यसपटक  १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि पनौती नगरपालिकाले  १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

आउँदो २८ गते सांस्कृतिक परिक्रमा गरी २९ र ३० गते हरिसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ । यस्तै, वैशाख १ गते हरिसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुनेछ। त्रिशक्तिभवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो मुखौटा लगाएर देखाइने देवीनाचको रुपमा वंशावलीमा उल्लेख गरिएको छ । 

तस्बिर : जितेन्द्र महर्जन

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया