अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आउँदो वैशाखको दोस्रो हप्ताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गर्नुभएको थियो । गएको वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई हप्ताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्रै पानी सुन्दरीजलमा झारिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक–एक दिन त्यहाँ सफा गरेर पनि दुई हप्तामा पानी सुन्दरीजल आइपुग्न सक्छ ।’
ग्यालथुम, सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर उतैको खोलामा झारिने र सुन्दरीजलमा सफा गरेर पानी बाग्मतीमा झारिने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार गएको वर्षजस्तै नदीहरूमा पानी झार्दा पानीको बहाव केही बढ्न सक्छ । उहाँले भन्नुभयो, ‘हामीले सूचना प्रकाशित गरेर स्थानीयवासीलाई सर्तक बनाउनेछौँ ।’ सुरुङभित्र रहेका विभिन्न अडिटहरूबाट सुरुङको सफाइ बर्सेनि गर्नुपर्ने उहाँले बताउनुभयो । गएको वर्ष नै सञ्चालनमा आइसकेको सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा समस्या छैन ।
सरकारले गएको वर्ष फानुनमा नै मेलम्चीको पानी काठमाण्डौमा ल्याएर वितरण सुरु गरेको थियो । विसं २०७७ फागुन १० गते मेलम्चीबाट पानी पथान्तरण गरिएकोमा फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुमा दैनिक १७ करोड लिटरबाट सुरु गरेर दैनिक ५१ करोड लिटर पानी वितरण भइरहेको थियो । असार १ गते मेलम्चीमा आएको बाढीका कारण आयोजनामा पुगेको क्षतिका कारण झन्डै नौ महिनादेखि पानी काठमाण्डौ ल्याउन सकिएको छैन ।
आयोजनाले पहुँच सडक निर्माण भएसँगै सुरुङमा गेट नं १, ९ र ३८ मा मर्मत गरेको थियो । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाइएको छ र ३८ ले नियन्त्रण गरेको छ । गेट नं ९ बाट फेरि खोलामा पठाइन्छ । गएको महिनामा यी तीन गेटमा मर्मत र गेट नं १ देखि ९ सम्म दुई स २१० मिटर लम्बाइको सुरुङ सफाइ गरिएको थियो ।
मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रूपमा रहेको अम्बाथान अडिटमा सफाइ गरिएको थियो । मेलम्ची नदीबाट सुरु भएको दुई सय ९८ मिटर लामो त्यो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएकोमा यो सफा गरिएको हो ।
आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायीरूपमा चलाउने योजना बनाइएको छ । गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायीरूपमा मानवले गर्नुपर्छ ।
आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् । बाढीका कारण गएको वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण फेरि गएको वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् ।
सडक र संरचना मर्मतको काम अहिले अस्थायीरूपमा मर्मत गरेपछि नै आयोजनाको सफाइको काम गरिएको हो । खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडीबी) ले आयोजनामा पुगेको क्षतिको अध्ययन गरिरहेको छ । अरू कतिपय निकायले त्यहाँको वातावरण र भौगर्भिक अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । पहिले अध्ययन प्रतिवेदन आएपछि नै स्थायी संरचना निर्माणमा जान सकिन्छ । यो आर्थिक वर्षको अत्यसम्ममा अध्ययन प्रतिवेदन आउन सक्ने उहाँको भनाइ थियो ।
दुई दशक पहिले सुरु भएको आयोजना निर्माण अन्तिम काम पुग्दा गएको वर्ष असार गते आएको बाढीले क्षति पुर्याएको थियो । त्यसपछि वर्षाले आयोजनामा थप क्षति पुर्याएको थियो । आयोजनास्थलसम्म पुग्ने सडक नै भासिएकाले प्राविधिकसमेत आयोजनास्थल पुग्न सकेका थिएनन् । अस्थायीरूपमा सडक खुलाएपछि पुरिएको अवस्थामा रहेको संरचना खुलाएर पानी पथान्तरण गरिएको हो ।
आयोजनाअन्तर्गत समितिले आयोजनास्थलमा रहेका संरचना निर्माण र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताको घरघरसम्म पानी पुर्याउने संरचनको निर्माण गरिसकेको छ । मुख्य पाइप, वितरण पाइप र उपत्यकाका १० ठाउँमा ठूला ट्याङ्की निर्माण भएका छन् । निर्देशनालयले बनाएका संरचनाको प्रयोग गर्दै काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले घरघरमा पानी पुर्याउने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।