अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
म्याग्दी - टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति गुनासो गरिरहेको पाइन्छ । पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ । वनजङ्गल, डाँडाकाँडा जताततै जथाभाबी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त बढेका छन् नै गाउँ बस्तीमा खानेपानीको अभाव हुन थालेको छ ।
वतावरणीय प्रभाव मूल्याङ्कन नगरि जथाभाबी चलेका डोजरले सडक निर्माण भएर यातायात त सुगम भएको छ तर पानीका मुहान सुकेपछि खानेपानी बोक्न स्थानीयवासीलाई सास्ती बढेको छ । डोजरले वनजङ्गल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न पालिकामा रहेका खानेपानीका मुहान, झरना र कुवासमेत नासिएका छन् ।
डोजरले जथाभाबी सडक खन्दा पानीका प्राकृतिक मुहान सङ्कटमा परेको जरुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ओमबहादुर थापाले बताउनुभयो । 'कुवा, झरना र जलुकेनी केही रहेनन्, डोजरले सबै सक्यो, यस्तै अवस्था भइरहने हो भने अबका केही वर्षमा नै खानेपानीको हाहाकार उत्पन्न हुन्छ', थापाले भन्नुभयो, 'बरु सडक घुमाउरो भए पनि केही हुँदैन तर पानीका मुहान भने बचाउन आवश्यक छ ।'
गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन् । लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १७ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।
डोजरकै कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन् । माइथान मन्दिर नजिकै रहेका चारवटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँले खोला र टाढा रहेका पानीका मुहानमा खानेपानी लिन जान बाध्य भएका स्थानीयवासी इन्द्रमति फगामीले बताउनुभयो ।
'तीन–चार वर्षअघिसम्म कलकल बग्ने ढोडेनी खोलाको पानी अहिले सुकेको छ । माछा, भ्यागुता र चेपागाँडा कहिल्यै नटुट्ने यो खोला अहिले सुक्खा बगरमा परिणत भएको छ । खोलामा कमिला हिँड्न थालेका छन्', बेनी नगरपालिका–१ अर्जमका मेखबहादुर थापाले बताउनुभयो । जथाभाबी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको स्थानीयवासीको भनाइ छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन् ।
डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, छाप, घतान, पात्लेखेतलगायतका गाउँमा पनि खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको समस्या झेल्नुपरेको स्थानीयवासीले पीडा सुनाएका छन् । पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको वास्बोटकी यमुना आचार्यले बताउनुभयो । डोजरका कारण म्याग्दीका मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान सङ्कटमा परेका स्थानीयवासीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।