मतदाता भन्छन् : 'हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्'

 वैशाख १९, २०७९ सोमबार ८:२९:२८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

झापा - झापामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झन्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । 

सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरु आ–आफ्नै चुनावी एजेन्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ ।

विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् । मेचीनगर नगरपालिका–१५ मा रहेकाे भण्डाबारी टोलकी ७५ वर्षीया डुकु मुर्मुले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताउनुहुन्छ । 'पहिला–पहिला त घरघरमा झन्डा राखिदिने, चुनाव प्रचारमा हिँडेबापत दैनिक ज्याला दिनेसम्म गर्थे', उहाँ भन्नुहुन्छ, 'यसपालि चाहिँ त्यसो गर्ने कोही आएनन् ।'

पहिलोपटक चुनावमा भाग लिन लाग्नुभएका मेचीनगर–१४ का १९ वर्षीय दीपेन्द्रकुमार न्यौपानेले भने उत्साही हुनुहुन्छ । उहाँ भन्नुुहुन्छ, 'बुबा, आमा, दाजु दिदीले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु ।' उहाँले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताउनुभयो । 

राजनीतिक दलहरुले बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय ठाउँमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदासमेत एक अर्कामा अँगालो मारेर आत्मीयता साटेको देखिन्छ । मेचीनगर–१५ का ८३ वर्षीय कालिन्द्र राजवंशीले विगतमा भन्दा यसपालिको चुनाव पृथक लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, 'गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो । कसले ठूलो झन्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो । यसपालि शान्त छ ।'

यसपालिको चुनावमा त्यस्तो केही नभएको र जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको उहाँको भनाइ छ । उहाँले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'हामीले मत दिन्छाैँ, जनप्रतिनिधिले विकास दिनुपर्यो।'

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया