५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि 'फाइजर' खोप

 जेठ २०, २०७९ शुक्रबार १९:०:४९ | रासस
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई 'फाइजर' खोप लगाउने जानकारी गराउनुभएको छ । आज शुक्रवार भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो  । 

पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उहाँले अनुरोध गर्नुभएको छ । 

उहाँले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताउनुभयो । ‘खोप खरिद प्रक्रियामा रहेको थियो । यसको मूल्य ६ अर्ब रुपैयाँभन्दा माथि रहेको थियो । तर मन्त्रालयले निरन्तर प्रयासमार्फत कोभ्याक्स सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो’, उहाँले भन्नुभयो । 

केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र पालिकामा खोप वितरण गरिने छ । नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ । बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुस्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो । सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया