१० वर्ष खाडीमा बित्याे, गाउँ फर्किएर भैँसीपालन, महिनामा ४ लाख रुपैयाँ आम्दानी

 जेठ २१, २०७९ शनिबार १७:४०:१७ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन हि सिद्धयन्ति कार्याणि वा मनोरथैः’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र चाहना पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरूपमा नै चरितार्थ गरी दिनुभएको छ । 

१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका ७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेसा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रसन्नताको महक प्राप्त गर्नुकासाथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ ।

‘प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्डु घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्’, ढुङ्गानाले भन्नुभयो, ‘परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौँ ।’

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरूले अमेरिका जान उचाले । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामाभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो । आजभन्दा नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंँसी र दुई जर्सी गाई दुहुना छन् । 

ती भैँसी र गाईबाट दैनिक एक सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउनुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक चार लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक झन्डै दुई लाख रुपैयाँको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले पचास लाख रुपैयाँ लगानी भइसकेको उहाँले बताउनुभयो । उहाँले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ । 

‘बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्‍याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दूध पुर्‍याएपछि बल्ल शरीरमा फुर्ति आउँछ’, ढुङ्गानाले भन्नुभयो ।

प्रतिलिटर ९० रुपैयाँमा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गानाले बेलुका र बिहान गरी दिनमा दुई पटक मोटरसाइकलबाट बेनीमा दूध पुर्‍याउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ ।’ पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ । जहाँ दुईलाई रोजगारीसमेत दिनुभएको छ ।

भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानाले विदेशमा गएर अरूको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउनुहुन्छ । 

ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिँदैन । आफूलाई फापेको भैँसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले ढुङ्गानाको फर्ममा दुई हजार तीन सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक आठ लाख रुपैयाँ पुग्छ । गाईभैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ ।

म्याग्दीमा बढ्यो दूधको मूल्य

म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा किसान मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक किसानहरू खुसी भएका छन् ।

मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर एक सय १० र व्यापारीले अधिकतम एक सय ३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि किसनले दूधको मूल्य ९० रुपैयाँ प्रतिलिटर र डेरीले उपभोक्तालाई एक सय २० रुपैयाँमा बिक्री गर्ने गरेका थिए । गाईको दूध प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा किसानलाई प्रतिलिटर २० र डेरी व्यसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी व्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो ।

दूधको मूल्य समायोजनले किसानलाई राहत मिलेको बेनी नगरपालिका ६ बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । ‘हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, किसानको माग सम्बोधन भएको छ’, पौडेलले भन्नुभयो । यता उपभोक्ताले दूध आम उपभोक्ता सामु पुर्‍याउन गुणस्तरमा ध्यान दिँदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन् । 

उपभोक्ताले तिर्ने मूल्यअनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवासहित सरोकारवाला निकायले दूध सङ्कलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, बिक्रेता कमिसनसम्म ध्यान दिँदा दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया