‘शेयर बजारमाथि विश्वास कायम गर्न मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले के गरिरहेका छन् ?’

साना लगानीकर्ता उठ्न नसक्ने गरी थला परेका छन्, तत्काल समाधान खोजिनुपर्छ : गगन थापा

 असार १, २०७९ बुधबार १४:४:५६ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाको आज बुधवारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभइ समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा अहिले धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो । 

उहाँले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भए पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गर्नुभयो । 

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कांग्रेस महामन्त्री थापाले गएको लामो समयदेखि अस्थिर रहेको शेयर बजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो । 

शेयर बजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उहाँले शेयर बजारको स्थायित्व कायम गर्न, शेयर बजारमाथि विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले के–कस्ता काम गरिरहेका छन् भनी प्रश्न गर्नुभयो । 

साथै उहाँले साना लगानीकर्ताको संरक्षणका लागि भइरहेका कामहरूबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । नेता थापाले भन्नुभयो, ‘२०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार एक सय ९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार नौ सय ९९ मा झरेको छ । यसले शेयर बजारको विश्वसनीयतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्ने गरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।’ 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया