हाकिम होइन सेवक भएर काम गर्नुस् : अध्यक्ष ओली

 असार २, २०७९ बिहीबार १७:१९:५८ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न पालिकाका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

पार्टीको केन्द्रीय स्कुल विभागले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले नागरिकसँग शालिन र विनम्र भएर, हाकिमजस्तो नभइ सेवकका रूपमा सेवा दिन आग्रह गर्नुभएको हो ।

‘चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला–पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।’

अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिँदै पालिका चुनावको परिणाममा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले अब सङ्घीय र प्रदेशको चुनाव आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेललगायतले पार्टी र पालिकाका जनप्रतिनिधिको सम्बन्ध, बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिनुहुनेछ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया