रामेछाप : ‘ब्रेक फेल’ हुँदा बस दुर्घटना भएकाे प्रारम्भिक अनुमान

 असार २१, २०७९ मंगलबार १४:१०:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा आज मङ्गलवार बिहान भएको बस दुर्घटनामा नौ जनाकाे ज्यान गयाे । 

नेपालको भौगोलिक अवस्था, चालकको लापर्बाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरू बढ्दो छ । 

रामेछापको बस दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाइ एक्कासी भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ । 

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार त्याे गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।  

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाण्डाै आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ काे सिमानामा दुर्घटना भएको हो । 

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती ५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । हिँडेको केही घन्टापछि (झन्डै १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताउनुभयो । 

उहाँका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको ठाउँबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दुरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दुरीमा वीपी राजमार्ग (पक्की सडक) भेटिने पनि उहाँले बताउनुभयो । 

बिहान १० बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका नौ जनामध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरूको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो ।  

तीन जना घाइतेलाई हेलिकप्टरबाट काठमाण्डाै र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।  

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम चार घन्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो । 

स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच, मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया