१६ वर्षपछि बेनी–सिमखण्ड कालोपत्र, ‘२ घण्टाकाे बाटाे २५ मिनेटमा छाेटियाे’

 असार २९, २०७९ बुधबार ९:३४:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । १२ किलोमिटर लामो सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलु्ङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

सडक कालोपत्र भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बाग्लुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ ।

सडक कालोपत्र भएपछि झन्डै दुई घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताउनुभयो । ‘सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ’, रणबाङका हरिकृष्ण पौडलले भन्नुभयो । अब यस क्षेत्रको व्यापार व्यवसाय फस्टाउने भएको छ । 

बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले सडक कालोपत्र गरेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्र गरिएको छ । ११ मिटर फराकिलो सडकमा सात मिटर कालोपत्र गरिएको छ ।

सडक कालोपत्र गर्न २०७४ असोजमा ४५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा काम गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ  । तत्कालीन सडक डिभिजन कार्यालयले ठेक्का लगाएको यस सडक २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । 

आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्मको आठ किलोमिटर खण्ड कालोपत्र गर्न २२ करोड ५७ लाख रुपैयाँमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको छ । एक वर्षयता यो कम्पनीले काम नगर्दा काम अधुरै छ । यस्तै मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया