१ लाख २५ हजार राशिको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई

 असार ३०, २०७९ बिहिबार ८:१७:५७ | रासस
unn.prixa.net

काठमाण्डाै - यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ। नेपाल शिक्षा परिषद्ले २०९औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो ।

१ लाख २५ हजार रुपैयाँ नगद राशि र प्रमाणपत्र रहेको याे पुरस्कार हिजाे साहित्यकार एवम् शिक्षाविद् मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गर्नु भएकाे हाे । भानु पुरस्कारबाट सम्मानित नेपाली २०१३ सालको मदन पुरस्कार विजेता समेत हुनुहुन्छ । ९२ वर्षीय नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाउनुभएको थियो ।  

पुरस्कार हस्तान्तरण गर्दै शिक्षाविद् चालिसेले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा भानुभक्त आचार्यको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष मोहन सिटौला र नेपाल शिक्षा परिषद्का सदस्य डा.बमबहादुर थापा ‘जीताली’ ले भानुभक्त आचार्यको साहित्य नेपालमा मात्र नभइ विश्वमाझ फैलिएको बताउनुभयो ।

नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली भाषा, साहित्य, संस्कृति र अध्यात्म क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष भानु पुरस्कारबाट सम्मान गर्दै आएको बताउनुभयो । उहाँले अक्षयकोष स्थापना गरी भानु पुरस्कार स्थापना गर्दै आएको उल्लेख गर्नुभयो ।

२००८ सालमा स्थापना भएको नेपाल शिक्षा परिषद्ले २०१६ सालमा दरबार हाइस्कुल अगाडि भानुभक्तको प्रतिमा स्थापना गरी हरेक वर्ष भानुजयन्तीमा माल्यार्पण गर्दै आएको नेपाल शिक्षा परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया