चितवनमा रगतको अभाव भएपछि काठमाण्डाै र पोखराबाट ल्याइँदै

 साउन ४, २०७९ बुधबार १४:४:५९ | रासस
unn.prixa.net

चितवनमा – चितवनमा रगतको अभावपछि आज बुधवार काठमाण्डाै र पोखराबाट ल्याइँदैछ । पोखराबाट चार सय र काठमाण्डाैबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घ–संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।

यहाँ दैनिक एक सय ५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उहाँले जानकारी दिनुभयो । बेलुकीसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्नेछ ।

त्यस्तै भाेलि बिहीवार यहाँको चितवन मेडिकल कलेजमा एक जना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डाैबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो ।

काठमाण्डाैबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिनुभयो । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरू तीन हजार हाराहारीमा रहेका पौडेलको भनाइ छ ।

जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्त क्यान्सर भएका एउटै बिरामीलाई चार सय युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताउनुभयो । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ ।

क्यान्सरका साथै यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरूमा अङ्ग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । काठमाण्डाैपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरूमा धेरै हुने गर्दछ । प्रसूति र दुर्घटनाका घाइतेहरूलाई पनि रगतको माग बढी हुने गर्दछ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया