जाँड–रक्सी खाने र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

 साउन ५, २०७९ बिहीबार १३:२५:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डाेटी – डाेटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । 

केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएकाे पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो । वडामा जाँड–रक्सी वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपछि याे निर्णय गरिएको हो । 

यसैगरी यस वडामा सञ्चालन हुने गाडीमा जाँड–रक्सी ओसारपसार गर्नेलाई समेत एक महिना गाडी 'होल्ड' राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

यसैगरी डाेटीकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले जाँड–रक्सी बिक्री र ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।   

यसैगरी जाँड–रक्सी खानेलाई पहिलो पटक दुई हजार पाँच सय र दोस्रो पटक खानेलाई पाँच हजार रुपैयाँ जरिबाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिनुभयो । 

डाेटीमा नौ वटा पालिका रहे पनि अन्य पालिकामा भने जाँड–रक्सी बिक्री वितरण, ओसारपसार तथा खानेलाई कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । कतिपय पालिकामा लाइसेन्स लिएर जाँड–रक्सी बिक्री, वितरण भइरहेकाले तिनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया