राजमार्गमा जताततै पहिरो, सिस्ने खोलामा सडक बन्द

 असोज २०, २०७९ बिहिबार १९:४६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विभिन्न ठाउँमा पहिरो र बाढीका कारण गाडी सञ्चालनमा समस्या आएको छ ।

त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्ने खोला सुरुङ मार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ । लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा पालिकाले जथाभाबी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाण्डाै भित्रिने राजमार्ग बन्द हुने गरेको छ । तीन दिनदेखिको लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रुखसमेत आएर सडक बन्द भएको छ । सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रुख हटाएर गाडी सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।

गल्छी गाउँपालिका महेश दोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा खस्दा गाडी चल्न सकेकाे छैन । गल्छी बजारमा सडक माथिबाट आएको पहिराेका कारण राजमार्गमा गाडीकाे लामो जाम लागेको छ ।

डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको पहिराेले गाडी सञ्चालनमा कठिनाइ आएको छ । धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउने–जाने बाटो बन्द भएको छ ।

ठाउँ–ठाउँमा पहिरो गएपछि गाडी दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिनुभयो । लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ पालिकालाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया