मलेसियामा कार्यरत अवैधानिक कामदारलाई ठगीबाट बच्न दूतावासको अनुरोध

 असोज १५, २०७५ सोमबार १५:१:३३ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली दूतावास मलेसियाले अवैधानिक कामदारलाई ठगीबाट बच्न अनुरोध गरेको छ ।

मलेसियामा बस्ने ताप्लेजुङका पिटी शेर्पा भनिने फुपु तेम्बा शेर्पाले अवैधानिक कामदारलाई नेपाल पठाइदिने भन्दै ठगेको उजुरी दूतावासमा परेकाले यस्तो अनाधिकृत ठगीबाट बच्न सबै अवैधानिक कामदारलाई अनुरोध गरेको हो । 

पीडितको निवेदनको आधारमा पिटी शेर्पालाई अनुसन्धान र कारबाहीका लागि मलेसियाका सम्बन्धित निकायमा पत्राचार गरिसकेको दूतावासले जनाएको छ ।  नेपाल फर्किन पाइने प्रलोभनमा शेर्पासँग कुनै पनि लेनदेन नगर्न पनि दूतावासले अनुरोध गरेको छ । अवैधानिक कामदारलाई स्वदेश फर्काउने अनुमतति मलेसिया सरकारले पिटी शेर्पा र अरु कसैलाई पनि दिँदैन । 

कसैले पिटी शेर्पाले जस्तै घर फर्काइदिने प्रलोभन देखाएर ठगेमा सिधैं मलेसियन प्रहरी, अदालत र नेपालमा नेपाल प्रहरी र अदालतमा पीडितले उजुरी गर्न सकिने छ । 

अवैधानिक भएर बसेका कामदारलाई मलेसिया सरकारले वैधानिक रुपमा नेपाल फर्किनका लागि आममाफी दिएको थियो । तर अहिले आममाफीको समय सक्किएकाले अवैधानिक हुने कामदारले मलेसियन इमिग्रेशन कार्यालयमा सम्पर्क राखि तोकेको जरिवाना तिरेर स्वदेश फर्किन सक्नेछन् । 

यस्तै मलेसिया सरकारले देशलाई अवैधानिक कामदा मुक्त बनाउने अभियान नै चलाएको छ । कम्पनी र कामदार बस्ने होस्टलमै पनि छापा मार्ने र पक्राउ गर्ने अभियान चलाइरहेको छ ।

मलेसियामा कार्यरत नेपालीलाई दूतावासले आफू खुशी कम्पनी छाडेर काम नगर्न अनुरोध गर्दै रोजगारदातासँग कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया