गोरखाको द्रव्य शाह क्याम्पसलाई अमेरिकी नागरिकबाट झण्डै १० करोड रुपैयाँ सहयोग प्राप्त

 कात्तिक २५, २०७९ शुक्रबार १८:३०:३२ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको द्रव्य शाह क्याम्पसलाई एक जना अमेरिकी नागरिकबाट झण्डै १० करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरिकी नागरिक प्राध्यापक डाक्टर जेनिस ह्विपलले सहयोग गर्नुभएको हो ।

उहाँको नाममा द्रव्य शाह बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना भएको छ । क्याम्पस सञ्चालक समितिको कात्तिक २३ गतेको बैठकले अमेरिकाबाट प्राप्त ७ लाख ४१ हजार ७ सय २३ डलर अर्थात् ९ करोड ७८ लाख ९८ हजार ३ शय १३ रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । 

सन् २००४ मा दोस्रो पटक नेपाल भ्रमण गर्दा संस्थापक क्याम्पस प्रमुख एवम् सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय मोहननारायण श्रेष्ठसँग गरेको मौखिक प्रतिबद्धता अनुसार रकम प्राप्त भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताउनुभयो । श्रेष्ठको सम्पर्कमा आउनुभएका ह्विपलले बाँकी रहेको नीजि सम्पत्ति आफ्नो मृत्यु पश्चात क्याम्पसलाई प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएअनुसार अमेरिकाबाट रकम प्राप्त भएको दुवाडीले जानकारी दिनुभयो । क्याम्पस सञ्चालक समितिको बैठकले जेनिस ह्विपल क्याम्पस विकास कोष पारित गरि रकम सञ्चालनका लागि कार्यविधि पनि बनाएको छ । 

सदरमुकामको एक बैङ्कमा मुद्धति खाता खोली ९ करोड ७८ लाख ९८ हजार ३ शय १३ रुपैयाँको अक्षयकोष स्थापना गरिएको क्याम्पस प्रमुख दुवाडीले बताउनुभयो । मुद्धति रकमबाट प्राप्त हुने वार्षिक झण्डै १ करोड २२ लाख रुपैयाँ ब्याज रकम विभिन्न कल्याणकारी काममा खर्च गर्ने गरि मापदण्ड बनाइएको द्रव्य शाह क्याम्पसले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

ब्याजको १० प्रतिशत रकम विद्यार्थी लक्षित छात्रवृत्ति, पुरस्कार, अतिरिक्त क्रियाकलाप, सूचना प्रविधि क्षमता विकास, अनुसन्धान लगायतको काममा खर्च गरिनेछ । अर्को १० प्रतिशत रकम भने क्याम्पसमा कार्यरत जनशक्तिको वृत्ति विकास अन्तर्गतका अनुसन्धान तथा क्षमता अभिबृद्धि, वृत्तिविकास, अध्ययन लगायतका शीर्षकमा खर्च गर्ने गरि कार्यविधि बनाइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष धीरजबहादुर मास्केले जानकारी दिनुभयो । 

क्याम्पसमा कार्यरत जनशक्तिको औषधोपचार, बिदा, उपदान लगायत शीर्षकमा बार्षिक ब्याजको १५ प्रतिशत रकम खर्च गरिनेछ भने २५ प्रतिशत रकम कोषमै थप गरिनेछ । यस्तै वार्षिक ब्याजको ४० प्रतिशत रकम भने क्याम्पस सञ्चालनको लागि खर्च गर्ने गरि कोष सञ्चालन कार्यविधि बनाइएको मास्केले जानकारी दिनुभयो । 

जेनिश ह्विपल क्याम्पस विकास कोष स्थापनाले क्याम्पसको गुणस्तर वृद्धि गर्ने अठोटलाई पूरा गर्न सहयोग पुर्‍याउने क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताउनुभयो । आर्थिक रुपले पछाडि परेका जेहेन्दार, दलित, अल्पसंख्यक तथा लोपोन्मुख समुदायका विद्यार्थीलाई थप आकर्षण गर्न पनि कोषको रकमले सहयोग पुग्ने उहाँको विश्वास छ । 

अमेरिकाको न्यूयोर्कमा सन् १९३० मे १ मा जन्मिनुभएका जेनिस व्ह्पिलले सन् १९९२ र सन् २००४ मा नेपाल भ्रमण गर्नुभएको थियो । पेसाले इन्जिनियर रहनुभएका उहाँ दुवै पटकको नेपाल भ्रमणका क्रममा गोरखाको हिमाली क्षेत्रको अध्ययनका लागि आउनुभएको थियो । सन् २००४ को गोरखा भ्रमणका क्रममा उहाँले तत्कालीन क्याम्पस प्रमुख मोहननारायण श्रेष्ठको समन्वयमा द्रव्य शाह बहुमुखी क्याम्पसलाई मृत्युपश्चात बचेको नीजि सम्पत्ति सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले सन् २०१३ मा क्याम्पसका शिक्षक कर्मचारीको क्षमता वृद्धिका लागि पनि ८ लाख ६० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । गोरखाको द्रव्य शाह क्याम्पसको सहयोगका लागि नीजि सम्पत्तिको झण्डै १० करोड रुपैयाँ छोडेर जानुभएका ह्विपलको सन् २०२० को फेब्रुअरी १ मा अमेरिकाको न्युयोर्कमा निधन भएको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया