सर्लाही–४ : सत्ता गठबन्धन र विपक्षी गठबन्धनलाई बागीको चुनौती

 कात्तिक २७, २०७९ आइतबार १८:३१:९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । सत्ता गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारले बागी उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु परेपछि चुनाव रोचक हुने देखिएको छ । 

सत्ता गठबन्धन दलबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका पूर्वसभापति नागेन्द्रकुमार राय र विपक्षी गठबन्धन  दल जनता समाजवादी पार्टी जसपाबाट उम्मेदवारी दिनुभएका राकेशकुमार मिश्रले नेपाली कांग्रेसका बागी उम्मेदवार डाक्टर अम्रेशकुमार सिंह र नेकपा माओवादी केन्द्रबाट बागी उठ्नुभएकी मधुमालादेवी यादवसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

कांग्रेसबाट टिकट नपाएपछि डाक्टर सिंहले पार्टीमा विद्रोह गर्दै आफ्नो विरासत जोगाउन  स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । त्यसैगरी माओवादी केन्द्रबाट टिकट नपाएपछि मधुमालाले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । भर्खरै बीएससी नर्सिङ सकाउनुभएकी युवानेत्री मधुमालादेवी माओवादी केन्द्रका नेता शिवपुजन रायको छोरी हुनुहुन्छ । रायलाई  रातो पासपोर्ट दुरुपयोग गरेको अभियोग लागेपछि छोरीलाई राजनीतिमा आफ्नो विरासत जोगाउन अघि बढाउनुभएको हो । 

वि.स.२०६२–६३ को दोस्रो जनआन्दोलनपछि सकृय राजनीतिमा उदाउनुभएका नेता सिंह नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिएका नेता हुनुहुन्छ । पहिलो संविधानसभा निर्वाचन २०६४, दोस्रो संविधानसभा निर्वाचन २०७० र  प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिंह लगातार त्यसबाट चुनाव लड्दै आउनुभएको छ । उहाँ पहिलो संविधानसभा चुनाव २०६४ मा  मधेसी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन रायसँग पराजित हुन भएको थियो । त्यसपछि सिंह २०७० को संविधानसभा सदस्य  र २०७४ को प्रतिनिधिसभा सदस्यमा लगातार त्यसै क्षेत्रबाट दुईपटक निर्वाचित हुनुभएको हो । 

वि.स.२०७४ को प्रतिनिधिसभा सदस्य चुनावमा सिंहले राजपाका राकेशकुमार  मिश्र र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर उम्मेदवारी दिनुभएका उनै शिवपुजन रायसँग पुनः  प्रतिस्पर्धा  गर्नुभएको  थियो । माओवादीबाट उम्मेदवारी दिनुभएका रायको उम्मेदवारी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा अदालतले खारेजी गरिदिएपछि सिंहले राजपाका मिश्रसँग मात्र प्रतिस्पर्धा गर्नुभएको हो । 

२०६४ सालको संविधानसभा चुनाव र २०७४ को प्रतिनिधिसभा चुनावमा रायसँग प्रतिस्पर्धा गर्नुभएका डाक्टर सिंहले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा रायकै छोरी मधुमालासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सिंहले २०७४ को प्रतिनिधिसभा सदस्य चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट २९ हजार ६१५ मत ल्याएर निर्वाचित हुनुभएको थियो । यस्तै उहाँको प्रतिस्पर्धी राजपाका  मिश्रले २८  हजार १३६ मत ल्याउनु भएको थियो । सिंहले राजपाका उम्मेदवार  मिश्रले  भन्दा १ हजार ५३९ मत बढी ल्यानुभएको थियोे ।

राजपाबाट चुनाव लडेका मिश्रलाई माओवादी र एमालेको समर्थन थियो । कांग्रेसले लगातार चुनाव जित्दै आएको सर्लाही ४ नम्बर क्षेत्रमा यसपटक कांग्रेसले पूर्वजिल्ला सभापति नागेन्द्रकुमार रायलाई उम्मेदवार उठाएको छ ।

रायको लागि ४ नम्बर क्षेत्र नयाँ निर्वाचन क्षेत्र हो नयाँ उम्मेदवारी दिनुभएको उहाँको लागि  मतदाता पनि नयाँ हुने भएकाले रायलाई चुनाव जित्न थप चुनौती रहेको विश्लेषक चन्द्रकिशोर रायको भनाइ छ । त्यस क्षेत्रबाट सत्तारूढ  गठबन्धन दल माओवादी केन्द्र र कांग्रेस दुवै दलका नेताले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसकै मत काटिने यादवको भनाइ छ । तराई मधेसको चुनाव अन्य भूगोलको भन्दा फरक हुने भएकाले नयाँ उम्मेदवारलाई चुनाव जित्न कठिन हुने अनुमान उहाँको छ । 

क्षेत्र नम्बर ४ मा  गठबन्धनको पूर्ण साथ नरहे नतिजा गठबन्धनको पक्षमा भन्दा अन्यत्र जानसक्ने नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्वअध्यक्ष कृष्णकुमार एस्मालीको विश्लेषण छ ।  स्वतन्त्र उम्मेदवारी दिएका सिंह र मधुमाला दुवै स्थानीय उम्मेदवार भएकाले सत्ता पक्षीय र विपक्षी दुवै गठबन्धनलाई नतिजा हात पार्न  सहज नभएको उहाँको तर्क छ । 

सत्ता गठबन्धनका उम्मेदवार राय २०६४ र २०७० को संविधानसभा चुनावमा अहिलेको सर्लाही  क्षेत्र नम्बर २ त्यसबेलाको क्षेत्र नम्बर  ५ बाट चुनाव लड्नु भएको थियोे । उहाँ दुवै पटक त्यस क्षेत्रबाट  पराजित हुनुभएको हो । २०७४ को प्रतिनिधिसभा चुनावमा उहाँलाई कांग्रेसले समानुपातिक संसदमा  सिफारिस गरेको थियो । 

क्षेत्र नम्बर ४ मा सिंह  र मधुमालादेवीको प्रतिस्पर्धा भन्दा उहाँका बुवा शिवपुजन र सिंहबीचको प्रतिस्पर्धा नै देखिएको स्थानीय महेश बरालको भनाइ छ । चुनावी परिवेश तातिँदै जाँदा स्वतन्त्र उम्मेदवारको तुलनामा दलका उम्मेदवारको प्रतिस्पर्धा फिक्का भएको उहाँको बुझाइ छ । 

यस्ताे छ चुनावी अंकगणित

पालिका तह चुनावमा कसको पक्षमा कति मत खस्यो भन्दा पनि यो क्षेत्रमा अमरेश र शिवपुजनको व्यक्तिगत प्रभावलाई स्थानीयले मुल्यांकन गर्ने गरेका छन् । त्यस क्षेत्रमा  कुल १ लाख १२ हजार ४९४ मतदाता रहेका छन् । पालिका तहको चुनावलाई आधार मान्दा सत्ता  गठबन्धन दलका उम्मेदवार नागेन्द्रकुमार  राय बलियो देखिन्छ । ५१ वडा रहेको क्षेत्र नम्बर ४ मा पालिका तहको चुनावमा नेपाली कांग्रेसले १९ वडामा जितेको थियो । त्यसैगरी सत्ता गठबन्धनकै माओवादी केन्द्रले १२, लोकतान्त्रिक समाजवादी पार्टीले ८ वडा जितेको छ । त्यसलाई आधार मान्दा ३९ वडा सत्ता गठबन्धन दलको पक्षमा देखिन्छन् । त्यसैगरी विपक्षी गठबन्धन दल नेकपा एमालेले १० वडा र जनता समाजवादी पार्टीले २ वडा गरि १२ वडा जितेको  छ । तर २०४८ सालको चुनावदेखि नै त्यस क्षेत्रबाट कांग्रेसका नेता महन्थ ठाकुर लगातार  विजय हुदै आउनुभएकाले नेपाली कांग्रेस बलियो देखिन्छ । 

वि.स.२०६४ सालमा ठाकुरले कांग्रेस छोडेर  नयाँ दल तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेपछि त्यस क्षेत्रको नेपाली कांग्रेसको राजनीतिको बागडोर सिंहले नै  सम्हाल्दै आउनुभएको छ । कांग्रेसको जनाधार बलियो देखिएको यस क्षेत्रमा गएको महाधिवेशनदेखि गुटको राजनीतिको कारण सिंहलाई टिकट नदिएर कांग्रेस महामन्त्री गगन थापालाई उम्मेदवारी बनाउन क्षेत्रले एकलौटी सिफारिस गरेपछि कांग्रेस वृत्तमा विवाद सिर्जना भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया