महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

 मंसिर २५, २०७९ आइतबार १५:७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । 

आज आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैङ्गिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको हो । उहाँले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताउनुभयो । महिला हिंसा गाउँघरमा मात्रै नभइ सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘महिला हिंसाविरुद्धको अभियान कोठाभित्र होइन अभियानको रूपमा लैजानुपर्‍याे । हामीले अब अभियानको रूपमा सडकमा गर्ने हो कार्यक्रम । सडकमा हिंसाविरुद्धको अभियानको रूपमा सडक नाटक होस् । समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन ।’

मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताउनुभयो । उहाँले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेरमात्रै नपुग्ने उहाँको भनाइ छ ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभइ समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताउनुभयो । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उहाँले उल्लेख गर्नुभयो । महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै उहाँले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताउनुभयो । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया