समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरकाे 'अल्टिमेटम'

 मंसिर २६, २०७९ सोमबार १६:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाले निर्माणाधीन छ वटा आयोजनालाई समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई 'अल्टिमेटम' दिएको छ । भरतपुरका मुख्य सडक खण्डहरूकाे निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पूरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो ।

आज आइतवार भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरका इन्जिनियर सारकार लामाले जानकारी दिनुभयो । बैठक महानगरकाे कार्यालयमा बसेकाे थियाे ।

धर्मचोक–वैकुण्ठचोक सडक खण्डको कालोपत्र गर्न बाँकी झन्डै पाँच सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पूरा गरी पुसको १३ गतेभित्र अस्फाल्टकाे काम सम्पन्न गर्ने तथा शहीद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । यो सडक निर्माण गर्न महानगरले निर्माण कम्पनीलाई बरम्बार ताकेता गरे पनि विभिन्न बहाना बनाएर काम गरेको थिएन ।

यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथअन्तर्गत महेन्द्र चोक–रिमाल चोक सडक खण्डको अस्फाल्टकाे काम १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ ।

त्यस्तै निर्माणाधीन पार्वतीपुर बजार सडक खण्डको बाँकी निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्ने गरि अगाडि बढाउने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको छ ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले जनताको प्रत्यक्ष सरोकारको विषयमा स्थानीय सरकारको हैसियतले महानगरको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो । महानगरले यहाँ निर्माणाधीन विकासको आयोजना समयमै सम्पन्न गराउन निर्माण व्यवसायीलाई पटक–पटक आह्वान गरि सहजीकरण गरेको बताउनुभयो । अब कुनै पनि आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरे नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।  

माडी–ठोरी हुलाकी सडक खण्डअन्तर्गतको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्न भरतपुर महानगरकी मेयर दाहाल, हुलाकी आयोजना प्रमुख धमेन्द्र झा, सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलेको संयुक्त बैठकले निर्माण कम्पनी रमण शिवशक्ति जेभीलाई छिटो काम पूरा गर्न अल्टिमेटम दिएको छ ।  

यसै प्याकेजअन्तर्गतका सम्पूर्ण सडक खण्डको बाँकी काम तोकिएको समयभित्रै एवम् यसअघि महानगरको बैठकमा भएको छलफलअनुसार काम गर्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीले प्रतिबद्धता जनाएको इन्जिनियर लामाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया