सुपथ मूल्यका बस्तु उपभोक्तालाई उपलब्ध गराउन सरकारलाई अर्थ समितिको निर्देशन

 असोज २३, २०७५ मंगलबार १५:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले दसैँमा सुपथ मूल्यका बस्तु उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका बस्तु सहज रुपमा उपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रुपमा बस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

समितिले दसैं, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले सरकारलाई गलत बाटोमा जान नदिन चनाखो हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भएको थियो । समितिका सदस्य घनश्याम भुसालले सरकारले गर्न नहुने काम गर्छ कि भन्ने विषयमा समिति चनाखो बन्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

समितिका अर्का सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको सम्पूर्ण खर्चको छुट्टै लेखा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी सम्पत्तिको अभिलेख राख्ने व्यवस्था गर्न पनि सरकारलाई समितिले सचेत गराउनुपर्ने प्रस्ताव पनि समितिको बैठकमा राख्नुभयो ।

समितिले सरकारको सम्पत्तिको समेत अभिलेख राख्ने लगायतका विषयमा बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका सरकारी निकायका प्रतिनिधिसँग पनि छलफल गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया