धादिङको सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

 बैशाख १४, २०८१ शुक्रबार १५:३५:३० | रासस
unn.prixa.net

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारकाे रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय गाडी बनाएका छन् ।

कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी बनाएका हुन् । केही पार्टपुर्जा किनेर र केही स्थानीय रूपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई हप्ता लगाएर तयार पारेको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो । अर्का विद्यार्थी अधिकारीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर विद्युतीय गाडी निर्माण गरेको बताउनुभयाे ।

गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई वटा मोटर र १२ भोल्टको वटा दुई ब्याट्री जडान गरिएको गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्‍याे त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।

बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा लागेको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताउनुभयो । गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया