वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम टी–२० खेलमा नेपाल टस हारेर बलिङमा
बैशाख २२, २०८१ शनिबार
नेपालमा सन् २०२१ को मार्च महिनामा जब धेरै क्षेत्रमा वनजङ्गलमा आगलागी भएपछि हामीले अध्ययन सुरु गरेका थियौँ । त्यस बेला काठमाण्डौमा वायु प्रदुषण बढेर आँखा पोल्न थालेकोले सरकारले विद्यालयसमेत बन्द गरेको थियो । त्यस्तो कहिले पनि नभएकोले यसको तथ्याङ्क खोज्न थालियो । तर, नेपालमा भने तथ्याङ्क थिएन । यसकारण सेटलाइट डेटा खोज्दा मोदिस र भियर्स भन्ने दुई वटा भेटिए । मोदिसमा सन् २००२ देखिको तथ्याङ्क थियो । त्यसमा हेर्दा सन् २०२१ मा सबैभन्दा धेरै आगलागीको घटना भएको रहेछ ।
त्यसपछि अध्ययन सुरु भयो । अनि आगलागी के कारणले भएको रहेछ भनेर खोज्ने क्रममा पानी कतिको परेको रहेछ भनेर हेरियो । पानी नपर्नु मात्रै कारण होइन आगलागीको तर, पानी नपर्दा तापक्रम बढेर सुक्खा भएका कारण ड्राउट इन्डेक्सको अध्ययन गरियो । आगलागी र ड्राउट इन्डेक्सको अध्ययन गर्दा यी दुई वटाको सम्बन्ध एकदमै राम्रो आयो ।
हुनत अरु देशमा पनि आगलागी हुन्छ । तर, त्यहाँको आगलागीमा सुक्खा मौसम मात्र कारण नभएर अरु कारण पनि हुन्छ । नेपालमा भने सुक्खा मौसम नै कारण भएको देखियो । यो महिना सुक्खा हुँदा आगलागीको घटना बढ्ने कुरा त ठिकै हो अघिल्लो महिनाको सुक्खा मौसमले पछिल्लो महिनाको आगलागीलाई के असर गर्छ भनेर अध्ययन गर्दा त्यो पनि राम्रो देखियो । पछिल्लो महिनाको आगलागीको कारण यही महिनामा थाहा हुने रहेछ भनेपछि हामीले एउटा तथ्याङ्कीय मोडल विकास गर्यौँ । यो मोडेलले पछिल्लो महिनामा हुने आगलागी अघिल्लो महिनाको सुक्खा हेरेर आगलागीको जोखिम थाहा हुने भयो ।
पहिले हामीले समग्र नेपालको अध्ययन गर्यौँ । तर, सबै क्षेत्रमा त आगलागी हुँदैन त्यसैले अहिले हामीले जोखिममा रहेका क्षेत्र छुट्याएर अध्ययन गरिररहेका छौँ । काठमाण्डौ तथा तराई जहाँ जङ्गल कम छ त्यसको एउटा क्षेत्र र तराईको पनि चुरेलाई एउटा क्षेत्र, पहाडी क्षेत्र अनि हिमाली क्षेत्र सबैलाई छुट्याएर अध्ययन गर्न र अर्को महिना आगलागीको जोखिम कति छ भनेर हेर्न भने सक्छौँ ।
सन् २००२ देखिको अध्ययन गर्दै जाँदा सबैभन्दा धेरै आगलागी सन् २०२१ तथा त्यसपछि सन् २०१६ तथा २००९ मा सबैभन्दा धेरै आगलागी भएका वर्षहरु देखियो । पछिल्लो दश वर्षमा ठूला आगलागीहरु भएका रहेछन् । आगलागीका घटनाहरु बढेको हो वा घटेको भनेर हेर्नलाई जलवायु परिवर्तनमा तुलना गर्न तीस वर्षको तथ्याङ्क चाहिन्छ । तर, हामीसँग बीस वर्षको मात्र तथ्याङ्क भएको हुनाले अहिले बढेको वा घटेको भन्न सकिन्न । बीस वर्षको तथ्याङ्क तुलना गर्दा पनि पछिल्लो दश वर्षमा सबैभन्दा तातो र सुक्खा भयो भन्न सकिन्छ ।
हामीले निकालेको नक्सामा कुन क्षेत्रमा बढी आगलागी भएको छ भनेर निकालेका छौँ । सुक्खा भए पनि नभए पनि वर्षैपिच्छे आगलागीको घटना त भइरहन्छ । तर, औसत भन्दा दश गुना बढी क्षेत्र पनि छ । सबैभन्दा बढी आगलागी भएको क्षेत्र भनेको मनाङ क्षेत्र हो । मनाङ क्षेत्रमा एक ठाउँमा लागेको आगो चार महिनासम्म पनि निभेको थिएन । अर्को भनेको चितवन, बारा, निजगढ क्षेत्रमा पनि पछिल्लो समय आगलगीको घटना निकै बढी भएको छ । र अर्को भनेको पश्चिम नेपालको कैलाली क्षेत्र ।
संसारमा कुनै पनि प्राकृतिक प्रकोप तथा दैवीप्रकोप सधैँ पक्कै पनि आउँदैन । हामीकहाँ २०७२ सालमा गएको भूकम्प धेरै वर्षपछि गएको हो । अब यसलाई हेरेर भूकम्प त सत्तरी/असी वर्षमा जाँदो रहेछ भनेर सुरक्षाको व्यवस्था गर्ने कि नगर्ने । जङ्गलमा जब आगलागी हुन्छ त्यसपछि हावा एकदमै प्रदुषित हुन्छ । आगलागीबाट निस्कने धुवाँबाट निस्कने खरानी जसलाई ब्ल्याक कार्बन भन्ने गरिन्छ त्यो हिमालसम्म पुगेको अध्ययनमा पाइएको छ । र, त्यो खरानी हिउँमा पुगेपछि हिउँ चाँडो चाँडो पग्लने हुन्छ । त्यसो हुँदा हाम्रो पानीको मुहान पनि चाँडो चाँडो सकिने भयो । आगलागीबाट हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष नोक्सानी हुने हुँदा त्यसलाई पूर्वानुमान गरेर सकिनेसम्म रोकथाम गर्ने कोसिस गर्नुपर्छ । पूरै रोकथाम गर्न नसकिए पनि न्यूनीकरण गर्न पनि पूर्वानुमान गर्नुपर्ने हुन्छ ।
डढेलो सापेक्षिक कुरा हो । संसारमै हेर्दा हाम्रोमा बढी अनि अन्यत्र देशमा कम भन्ने हुँदैन । काठमाण्डौ एक हजार ५ सय मिलिमिटर पानी पर्छ तर पनि हामी पानीको अभावमा बाँची रहेका छौँ । संसारमा यस्ता देशहरु पनि छन् जहाँ दुई सय मिलिमिटर पानी पर्छ त्यहाँ पनि पानीका स्रोतहरु राम्रै छन् र पुग्दो छ । यसकारण बढी, घटी भनेर हामीले अरु देशसँग दाँज्न मिल्दैन । तर, हाम्रै देशमा हिजो के थियो र अहिले के छ भनेर हेर्दा हामी जोखिममा छौँ भन्ने कुरा प्रष्ट हुन्छ ।
अहिले संसारभर जलवायु परिवर्तनको कुरा आइरहेको छ । जलवायु परिवर्तनले नै यो आगलागी बढाएको हो कि के हो भन्ने एउटा अध्ययन पनि गरेका छौँ । त्यसमा जलवायु परिवर्तनले नै सुक्खा मौसम बढेको भन्ने अध्ययनले देखाएको छ । जलवायु परिवर्तनले भविष्यमा नेपालमा धेरै पानी पर्छ भन्ने कुरा पनि अध्ययनमा देखिएको छ । विस्तृत अध्ययन गर्दा बर्खामा पर्ने पानी बढ्ने तथा हिउँदमा पर्ने पानी घट्ने देखियो । हिउँदमा थोरै पानी पर्छ । तर, पनि त्यो पानीको धेरै महत्व छ । त्यो पानी पनि घट्ने भएपछि डढेलोको समस्या झनै बढ्ने देखियो । जलवायु परिवर्तनको तथ्याङ्कलाई हेर्दा हाम्रोमा हुने आगलागीको सङ्ख्या बढ्ने देखिन्छ । यसकारण पनि अहिले नै हामीले रोकथामका उपाय अपनाउनु पर्ने जरुरी छ ।
जलवायु परिवर्तनको मुख्य असर भनेको तापक्रम वृद्धि नै हो । जति तापक्रम वृद्धि भयो त्यति नै डढेलो लाग्ने सम्भावना बढी हुने देखिन्छ । जलवायु परिवर्तनले सुक्खा तथा तापक्रम वृद्धि हुने हुँदा डढेलो लाग्ने भयो । रुखहरुलाई पनि जति पानी चाहिने हो त्यति नभएपछि झन सुक्खा हुने भए त्यसकारणले पनि डढेलोको सम्भावना बढी हुने भयो । हिउँद महिनामा सुक्खा हुने हुँदा हिउँदे बालीलाई त असर गर्ने नै भयो । यसको समग्र असर भनेको सुक्खा नै देखियो ।
यस वर्ष हामीले जाडो कम महसुस गर्यौँ । तर, यस वर्षलाई मात्र हेरेर यो जलवायु परिवर्तनको असर हो भनेर भन्न सकिन्न । तर, जलवायु परिवर्तनको असर भने विस्तारै विस्तारै बढ्दै गएको छ । हामीले सन् २०१९ को हिउँदलाई हेर्ने हो भने त्यो बेला पर्नुपर्ने भन्दा बढी पानी परेको छ । सन् २०२० मा ठिकै पानी पर्यो । २०२१ मा पर्दै परेन । २०२२ मा ठिकै पानी पर्यो । तर, अहिले २०२३ मा पानी परेन । पहिले पनि एक वर्ष पानी नपर्ने अनि अर्को वर्ष पानी पर्ने भने हुन्थ्यो । अहिले भने यो क्रम चाँडो, चाँडो देखियो । जसलाई वर्षैपिच्छे हुने फेरबदल (इन्टर एनुअल भेरिबिलिटी) भनिन्छ । अर्को तापक्रम वृद्धि भइरहेको छ यो पक्कै पनि जलवायु परिवर्तनको कारण हो । यी दुवै चिजलाई हेर्दा भने जलवायु परिवर्तनको असर भन्न सकिन्छ । तर, यस वर्षलाई मात्र हेरेर भने जलवायु परिवर्तनको असर भन्न सकिन्न ।
सुक्खाको कुरा गर्दा सन् १९८५ मा एउटा अनि ९० को दशकमा एउटा देखिन्छ । त्यसपछि सन् २००० तथा २००१ म पनि सुक्खा देखिन्छ । पहिले दुई/तीन वटा देखिन्थ्यो भने अहिलेको एक दशकमा भने चार/पाँच वटा देखिन्छ । यसले विगतमा भन्दा अहिले सुक्खा बढेको देखिन्छ । एक वर्ष सुक्खा भएर अरु वर्ष सुक्खा नभइ पानी पर्दा जमिनमा पानीको मात्रा पर्याप्त हुन्छ धेरै सुक्खा हुन पाउँदैन । तर लगातार जसो सुक्खा भयो भने जमिन तथा रुख विरुवाले जति पानी पाउनु पर्ने हो त्यो नपाएपछि कृषि क्षेत्र, पानीको मुहान तथा डढेलोको क्षेत्रमा पनि जोखिम बढ्दै जान्छ ।
एक वर्ष सुक्खा भयो र अर्को वर्ष सुक्खा भएन र पानी पर्यो भने त्यो वर्ष तुरुन्तै जोखिम बढेन । तर, त्यो वर्ष ठिक्क पानी पर्यो र अर्को वर्ष सुक्खा भयो भने त्यसपछिको वर्ष हुने सुक्खालाई अघिल्लो वर्षको सुक्खाले असर गर्छ । उति नै सुक्खा हुँदा पनि त्यो वर्ष भने आगलागीको जोखिम बढ्न जान्छ।
हामीकहाँ आगलागीको लागि सबैभन्दा जोखिमपूर्ण महिना भनेर अंग्रेजी महिना मार्च, अप्रिल तथा मे तीन महिनालाई लिइन्छ । त्यो भनेको फागुन १५ देखि जेठ १५ को समयलाई आगलागीका हिसाबले सबैभन्दा जोखिमपूर्ण महिनाको रुपमा लिइन्छ । यसमा पनि चैत १५ देखि वैशाख १५ मा आगलागीको सबैभन्दा जोखिम रहन्छ ।
तर, सन् २०२१ को कुरा गर्दा नोभेम्बरदेखि अर्थात् मङ्सिर, पुसदेखि नै हिमाली क्षेत्रमा आगलागी सुरु भएको देखिन्छ । सामान्यतया मङ्सिर, पुसमा आगलागी सुरु हुँदैन । तर, जलवायु परिवर्तनका कारण भएको सुक्खाले अहिले पनि त्यस्तै नै देखिएको छ । यदि यही रुपमा सुक्खा बढ्दै गयो र तापक्रम वृद्धि हुँदै गयो भने चैत वैशाखलाई मात्र नभएर हामीले मङ्सिर, पुसलाई पनि आगलागीको जोखिमको महिनाको रुपमा लिनुपर्ने हुन्छ । अहिले केही पानी परे पनि अब आउने दुई महिना आगलागीका दृष्टिकोणले एकदमै जोखिमपूर्ण महिना हो ।
आगलागीको कारण एउटा सुक्खा मौसम भए पनि त्यसको लागि इन्धन त केही न केही चाहियो नै । हामीले जल तथा मौसम विज्ञानमा एमएससी अध्ययन गर्ने विद्यार्थीलाई लिएर सुनकोशी गाउँपालिकामा गएर एउटा अध्ययन र छलफल गर्ने अवसर मिलेको थियो । छलफलमा वनका अधिकृत तथा वडाध्यक्ष पनि समावेश हुनुहुन्थ्यो । त्यसमा के देखियो भने जङ्गलमा रुख काट्नै हुँदैन भन्ने सोच भयो जस्ले रुख ढल्यो, सुक्यो तर त्यसलाई काट्ने, हटाउने काम गरिएन । र आगलागीको जोखिम बढ्यो ।
अर्को भनेको पहिले जङ्गलमा गएर पतकर सोहोरेर ल्याउने चलन थियो । जस्ले गर्दा भुईँ सफा हुन्थ्यो र त्यसले पनि आगलागीको जोखिम कम गथ्र्यो । र, आगलागी भइहाले पनि फैलने खतरा कम हुन्थ्यो । तर, अहिले पत्कर सोहोरेर ल्याउने चलन पनि छैन । किनकि धेरैले अहिले गाईवस्तु पाल्न नै छोडिसकेका छन् । त्यसकारण सुक्खा मौसम अगाडि नै ती पत्करहरु उठाएर त्यसलाई बाहिर ल्याएर सुरक्षितरुपमा आगो लगाउने वा मल बनाउने के हो त्यो गर्नुपर्ने हुन्छ ।
नेपालमा भने आगलागीको कारण के हो भन्ने खास थाहा हुँदैन । विदेशमा हो भने कारण थाहा हुन्छ । अमेरिकाको क्यालिफोर्निया तथा ओरेगन क्षेत्रमा २०/२५ प्रतिशत आगलागी प्राकृतिक कारणले हुने गर्छ । त्यो भनेको त्यहाँ तातो र सुक्खा हावा आउँछ । त्यो बेला दुई वटा रुख जुद्धा आगो निस्कन्छ र आगलागी हुन्छ । अर्को भनेको चट्याङ पर्दा जुन बिजुली चम्कन्छ त्यसले पनि आगलागी हुन्छ । नेपालमा भने त्यस्तो हावा नै आउँदैन । र चट्याङका कारण खासै आगलागी हुँदैन । धेरै सुक्खा भएर तातो हावा चलेर अनि दुई वटा रुख जुधेर आगलागी हुँदैन ।
नेपालमा भने जानेर वा नजानेर मानवीय कारणले डढेलो लाग्ने गरेको छ । यसमा अब मानिसका कारण आगो लाग्ने भएपछि सुक्खा र डढेलोको के सम्बन्ध रह्यो त भन्ने कुरा आउँछ । अरु बेलामा भने आगलागी भइहालेमा पनि खासै फैलँदैन भने सुक्खा मौसममा आगलागी भयो भने त्यो फैलन्छ र त्यसले भयानक रुप लिन्छ । आगलागी मानवीय कारणले भए पनि सुक्खा बढी भएको बेला त्यो फैलिएर कसैले नियन्त्रण गर्न सक्दैन । सुक्खा मौसम छैन भने धेरै फैलँदैन र मान्छे आफैँले पनि अलिकति पानी वा माटो हालेर पनि निभाउन सक्छ ।
अहिले साढे चार महिनामा एक पटक त्यो पनि थोरै पानी पर्यो । ठाउँ हेरी दुई, पाँच, दश, बाह्र मिलिमिटर पानी परेको छ । सुक्खा हट्नका लागि त्यो पर्याप्न पानी होइन । त्यसकारण पनि यहाँ आगलागीको जोखिम एकदमै धेरै छ । हामीले मौसम छुट्याउँदा डिसेम्बर, जनवरी र फेब्रुअरीलाई जाडो महिना भन्छौँ । मार्च लागेपछि हामी प्रि–मनसुन भन्छौँ । प्रि–मनसुनको मौसमको भविष्यवाणी हेर्दा मार्च महिना सुक्खा नै हुने देखिन्छ । पानी केही पर्ला तर, जति पर्नुपर्ने हो त्यति पर्दैन । त्यसकारण आगलागीको जोखिम अहिले पनि धेरै नै छ । एक वर्षमा जति पानी पर्छ त्यसको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्छ । बाँकी २० प्रतिशत अरु आठ महिनामा पर्छ । अरु २० प्रतिशत पानीमा प्रि–मनसुनमा मनसुनअघि सबैभन्दा धेरै पानी पर्छ ।
हिमाली क्षेत्रमा आगलागी हुँदा के भयो र त्यहाँ न जङ्गल छ, न मानिसको त्यस्तो धेरै बसोबास छ न त वस्तुभाउ नै हुन्छन् भन्ने हुन्छ । हामीकहाँ हिमाली क्षेत्रमा हुने आगलागीको विषयमा त्यस्तो धेरै अध्ययन भएको छैन । तर, भू–उपग्रहको तस्विर हेर्दा हिउँको नजिकै आगलागी भएको देखिन्छ । त्यसकारण जोखिम बढेको भनेर भन्न सकिन्छ ।
हिमाली क्षेत्रमा आगलागी हुँदा आगोका कारण निस्कने खरानी हिउँमा गएर बस्छ र त्यसले हिउँ पग्लिन पुग्छ जुन सबैभन्दा नोक्सानीको कुरा हो । हाम्रो हिमाल भनेको त पानीको स्रोत तथा पानीको संरक्षित क्षेत्र हो । त्यो विस्तारै पग्लिनु पर्नेमा छिटो छिटो पग्लियो भने पानीको स्रोत पनि घट्दै जान्छ । हिमाली क्षेत्रमा लागेको आगोको बारेमा अहिले नै यसै भन्न सकिँदैन । त्यहाँ प्राकृतिकरुपमा आगलागी भएको होइन । त्यहाँ गएर कोही मानिसले नै आगो लगाउनु पर्छ त्यसका लागि । र, सेटेलाइटबाट देखिने आगो भनेको सानो आगो पनि होइन । त्यसकारण अब आगलागी कस्ले किन गर्यो भन्ने बारेमा भने अध्ययन नै गर्नुपर्छ ।
आगलागीबाट जोगिनका लागि मुख्यतः हामीले मौसमको भविष्यवाणी गरेजस्तै एक महिना अगाडि नै आगलागीको बारेमा पनि भविष्यवाणी गर्न सकिन्छ । हामीले अहिलेसम्म त्यो गरेका छैनौँ । तर, अब गर्नुपर्यो । आवश्यक परे एक हप्ताको भविष्यवाणी पनि गर्न सकिन्छ । यो प्रत्यक्ष मानवीय सरोकारको कुरा भएकोले नेपाल सरकार तथा अन्य निकायहरुले पनि यसमा सहयोग गर्नुपर्यो । आगलागीको जोखिम बढी छ भनेपछि सामुदायिक वनका सरोकारवालाहरुले वनमा होर्डिङ बोर्ड वा प्लेकार्ड वा अन्य सूचना दिने सामग्रीमार्फत सचेत गराउनु पर्छ । अझ स्कुलका विद्यार्थीलाई पनि यस बारेमा जानकारी दिन सकियो भने प्रभावकारी हुने देखिन्छ ।
(त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद पोखरेलसँग गरिएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सहप्राध्यापक, जल तथा मौसम केन्द्रीय विभाग