अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन

 चैत ७, २०७९ मंगलबार २०:२१:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – भारतको अयोध्या र गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गाको धार्मिक एवम् ऐतिहासिक सम्बन्धलाई विस्तार गर्न गुल्मीमा सन्त सम्मेलन हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा आउँदो वैशाख २३ देखि ३१ गतेसम्म श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवम् विराट सन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयाे ।

रेसुङ्गालाई धार्मिक एवम् पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्राे हप्ता रेसुङ्गाको पोखरी क्षेत्रमा सन्त सम्मेलन हुन लागेकाे हाे । त्रेता युगदेखि रेसुङ्गाको सम्बन्ध अयोध्यासँग जोडिएको भए पनि यी दुईबीचको धार्मिक सम्बन्ध र महत्त्वको बारेमा प्रचारप्रसार हुन सकेको थिएन । 

दुई देशका महत्त्वपूर्ण धार्मिक स्थलहरूको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको राम अयोध्या धामका स्वामी राजेन्द्रनन्दजी महाराज र राजस्थानका योगी शम्भुनाथजी महाराजले सम्बन्ध विस्तारका लागि पहल सुरु गर्न लाग्नुभएको हो । उहाँ दुवै जना पवित्र रेसुङ्गा पुगी सरोकारवालाहरूसँग सन्त सम्मेलन र यसको मुख्य उद्देश्यकाे बारेमा जानकारी गराउनुभएको थियो । 

सम्मेलनका लागि चार सय सन्त भारतबाट रेसुङ्गामा आउने कार्यक्रमसमेत तय भइसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासबाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनमा टेवा पुग्ने भन्दै सम्मेलनको तयारी थालिएको हो । रेसुङ्गा नगरपालिकासहित छिमेकी पालिका, स्थानीय प्रशासन र विभिन्न सङ्घ–संस्थाहरूले वैशाख तेस्राे हप्ता सम्मेलन आयोजना गर्ने विषयमा सहमति भइसकेको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले बताउनुभयो । 

नगरपालिकाले रेसुङ्गा क्षेत्रको विकासका लागि केही दिनमै ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियान शुभारम्भ गर्न लागेको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा रेसुङ्गाको पर्यटकीय विकासलाई मुख्य प्राथमिकतामा राखेको भन्दै यो सम्मेलनले रेसुङ्गालाई पर्यटकीय गन्तव्य स्थलको रूपमा प्रचारप्रसार गर्न थप सहयोग पुग्ने मेयर पन्थीले बताउनु भयो ।  

योगी शम्भुनाथजी महाराजले ऐसिहासिक, धार्मिक तथा प्राकृतिक रूपले विचित्र र रमणीय रेसुङ्गा क्षेत्र ओझेलमा परेकोप्रति दुःख व्यक्त गर्नुभएको थियो । रेसुङ्गा र अयोध्यासँगको पुरानो धार्मिक सम्बन्ध विस्तार गर्दै साधु सन्तहरूको आवत–जावत बढाउने उद्देश्यले सम्मेलनमार्फत अभियान सञ्चालन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया