कालीकोटको महादेव माध्यमिक विद्यालयमा फैलिएको रोगको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली पुग्यो

 असार २२, २०८० शुक्रबार ८:५८:१५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुको महादेव माध्यमिक विद्यालयमा फैलिएको रोगको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

हिजो एक जना विद्यार्थीको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली रोग पहिचानका लागि त्यहाँ पुगेको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा पाँच सदस्यीय स्वास्थ्यकर्मीको टाेली रुडु पुगेको हो ।  

टोलीले त्यहाँ फैलिएको रोगको अनुसन्धान गर्ने र लक्षणका आधारमा अन्य बिरामीको उपचार गर्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । महादेव माध्यमिक विद्यालयमा एक हप्ता अघिदेखि शिक्षक तथा विद्यार्थी बिरामी पर्दै आएका छन् । उनीहरुको अनुहार सुन्निने जस्ता लक्षण दखिएको छ । तर, रोग पत्ता लागेको छैन । १ सय ७८ जना विद्यार्थी बिरामी परेका विद्यालयका प्रधानाध्यापक भरतबहादुर सिंहले बताउनुभयो ।

यस्तै, प्रारम्भिक बाल विकास (ईसीडी) का १३ जना शिक्षक पनि बिरामी भएका छन् । १३ जना शिक्षक र कक्षा ५ का १६ जना विद्यार्थीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र कक्षा ३ का १८ जना विद्यार्थीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया