देशभर कुन–कुन सडक अवरुद्ध छन् ? बुझेरमात्रै यात्रा गर्न आग्रह

 साउन २३, २०८० मंगलबार १५:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मङ्लवार भासिएको सडक । तस्बिर : रासस

काठमाण्डाै – ठूलाे वर्षाका कारण पहिरो खस्दा देशभर ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी काेरिडोर अवरूद्ध भएको छ । बाग्लुङ–बुर्तिबाङ सडक खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र काेरिडोरको बाग्लुङ नगरपालिकाकाे गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

यस्तै दाङको घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यसैगरी गए राति खसेको पहिराेका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको कालीखोलामा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । केहीबेर सडक खुलाए पनि फेरि बन्द भएको छ ।

यस्तै हेटौँडालाई काठमाण्डाैसँग जोड्ने दुई वटा छोटा राजमार्ग कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । भीमदत्त राजमार्गको खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएपछि अवरुद्ध भएको हो । यस्तै पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डअन्तर्गत व्यास–१२ देउरालीमा सडक भासिएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने वीपी राजमार्ग अवरुद्ध भएको छ । वीपी राजमार्गअन्तर्गत नै रोशी गाउँपालिका–११ कालढुङ्गामा पनि सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । यस्तै नुवाकोटको ककनी गाउँपालिका–४ निगालाेमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ बैसरीमा पहिरो खस्दा बेनी जोमसोम सडक खण्ड पनि अवरुद्ध छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरो झर्दा बतुडर–जोगबुढा भित्री सडक खण्ड अवरुद्ध भएको छ ।

प्युठानको माण्डवी गाउँपालिका–१ गर्जेनीमा पहिरो जाँदा भालुबाङ–प्यूठान–रोल्पा सडक खण्ड अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ ड्याम साइटमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग एकतर्फी बन्न पुगेको प्रहरीको भनाइ छ । ठाउँठाउँमा सडक बन्द भएकाले सडकको अवस्थाबारे जानकारी लिएरमात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया