कालाेपत्रकाे ठेक्का लिएकाे कम्पनी सामान उठाएर हिँड्दा ५ महिनादेखि काम ठप्प

 साउन २५, २०८० बिहिबार १३:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडककाे कालोपत्रको काम पाँच महिनादेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले गएकाे पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो ।

गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार कम्पनी अहिलेसम्म निर्माणस्थलमा नफर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको थियो । निर्माण व्यवसायीले भाडामा ल्याएका गाडी र क्रसर मेशिन भने सम्बन्धित मालिक आएर लगेका हुन् । सडक कालोपत्रमा भइरहेको ढिलासुस्तीका विरुद्ध साउन २५ गते प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयसहितको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा 'डेलिगेशन' गएको मेयर भट्टराईले बताउनुभयो । 

निर्धारित समयमा काम गर्न नसकेकाेमा भारत कन्ट्रक्शन/सिद्धी शाहीलाई गएकाे माघमा १४ दिनको १३ लाख ९९ हजार सात सय १९ रुपैयाँ जरिबाना गरिसकिएको छ । गएकाे मङ्सिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको छ दशमलव पाँच किलोमिटर सडक कालाेपत्र गर्न नसकेपछि पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक एक लाख रुपैयाँको हाराहारीमा जरिबाना लगाउन शुरु गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने सर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको भाैतिक प्रगति अहिलेसम्म झन्डै ५० प्रतिशतमात्र देखिएको कार्यालयले जनाएको छ ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार खण्डको कालोपत्रको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया