युवाहरूलाई देशमै राख्ने गरी रास्वपाकाे उदय भएकाे हाे : सभापति लामिछाने

 भदौ २१, २०८० बिहिबार १९:३९:१४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवाहरूलाई देशमै राख्ने गरी आफ्नो पार्टीको उदय भएको दाबी गर्नुभएको छ । 

पहिलो पटक ताप्लेजुङ आइपुग्नु भएका रास्वपा सभापति लामिछनेले ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा आयोजित सभालाई आज बिहीवार सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले ३० वर्षदेखि नागरिकलाई झुक्याएर ‘मनी र मसल’ को सहारामा चुनाव जित्ने अनि जिल्लाबाट हराउने प्रणालीको अन्त्यका लागि पनि यो पार्टीको उदय भएको जिकिर गर्नुभयो ।

पार्टीमा रहेका कुनै पनि सदस्य वा कार्यकताले आफन्तका लागि नभएर देशको हित र समृद्धिका लागिपरेका सभापति लामिछानेको भनाइ छ । अरू पार्टीका जनप्रतिनिधिहरूले जिल्लामा जितेर काठमाण्डौ गएपछि नफर्किने गरेको भन्दै उहाँले भन्नुभयो, ‘काठमाण्डौमा बसेर ताप्लेजुङमा जनप्रतिनिधिको रूपमा कसलाई पठाउने भनेर नेताले भागबन्डा लगाउने जस्ता हर्कत रास्वापामा हुँदैन । जिल्लाको विषयमा यहीको सङ्गठनले निर्णय गर्छ ।’

प्रदेश सरकार आफ्ना असन्तुष्ट कार्यकर्ताको थामथुम गर्ने थलो भएको टिप्पणी गर्दै लामिछानेले प्रदेश संरचनाबारे रास्वपाको छुट्टै अडान र धारणा रहेको जिकिर गर्नुभयाे । नागरिकले राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै उहाँले नागरिककाे त्यो अभिलाषा रास्वपाले पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । २०८४ को चुनावमा नागरिकले रास्वपालाई देशकै पहिलो शक्ति बनाए पाँच वर्षभित्रमा देशमा ठूलो परिवर्तन गर्ने र त्यो गर्न नसके नागरिककाे सामु कहिल्यै नआउने उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया