दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

 भदौ २३, २०८० शनिबार १२:२४:३३ | ललित सामन्त
unn.prixa.net

दार्चुला - दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलकाे नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । शुक्रवार हिजाे दार्चुलाकाे व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ ।

चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीकाे सङ्ख्या पाँच वटा पुगेको छ ।  दार्चुलाकाे दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्।

तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रकाे सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयाे । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएकाे छ । 

व्यास गाउँपालिकाको वडा नम्बर २ काे माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेकाे महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयाे ।

नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् ।

सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन्। तिङ्करको बीओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी अन्य सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरुका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

बोर्डर आउट पोष्ट स्थापना गर्न गएकाे टोली शनिवार आज भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम आउन लागेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया