जुम्लाका किसानलाई स्याउ टिप्ने चटाराे

 भदौ २३, २०८० शनिबार १३:४९:१८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका स्याउ किसान रतनबहादुर भण्डारी यतिबेला आफ्नो बगैँचाको स्याउ टिप्ने चटारोमा हुनुहुन्छ । उहाँलाई स्याउ कसरी सुरक्षित टिप्ने भन्ने विषयमा चिन्ता बढिरहेको छ । चन्दननाथ–२ का रतन भण्डारीले परिपक्व स्याउ बजारमा लैजानको लागि भदौ ११ गतेबाट स्याउ टिप्न लाग्नु भएको हो । 

भण्डारीको बगैँचामा स्याउ लटरम्म फलेर राताम्मे भएको छ । छिमेकीको समेत सहयोगमा यतिबेला भण्डारीमात्र नभएर छोरी , श्रीमती, बहिनीलगायतलाई स्याउ टिप्न सहित चटारो छ । भण्डारीको घर भन्दा १५ मिनेट माथिको दूरीमा रोपिएका चार सय ६५ स्याउका विरुवामा यतिखेर स्याउ फलेका छन् । 

भण्डारीको बगैँचामा जुम्लाको रैथाने बिरुवा रेड डेलिसियस, रोयल डेलिसियस, जोनाथन लगायतका अन्य जातका बिरुवामा यस पटक स्याउ फलेका हुन् । 
यस वर्ष उहाँको बगैँचामा करिब ८० देखि ९० क्विन्टल स्याउ फल्ने अनुमान छ । प्रतिकेजी ७० रुपैयाँको दरले भण्डारीले व्यापारी गोविन्द बुढालाई बेच्न सम्झौता गरेको बताउनु हुन्छ । यस हिसाबले स्याउबाट उहाँको ५ लाख ६० हजार रुपैयाँ आम्दानी हुने देखिन्छ ।

तातोपानी गाउँपालिका–३ लिताकोट निवासी अर्का किसान तिलकवहादुर रावलको तीन सय बिरुवाको स्याउ बगैँचामा पनि अहिले स्याउ टिप्ने तयारी भइरहेको छ । उहाँको बगैँचामा यस बर्ष केही कम स्याउ फले पनि गुणस्तरीय स्याउ फलेको उहाँले जानकारी दिनुभयो । उहाँले यस वर्ष तातोपानी गाउँपालिभरी नै आफ्नो स्याउ सबैभन्दा स्तरीय र राम्रो फलेको बताउनु भयो ।

बगैँचाका आधा बोटमा मात्र स्याउ फले पनि ३० देखि ४० क्विन्टल स्याउ उत्पादन हुने उहाँले बताउनुभयो । प्रतिकेजी ६० रुपैयाको दरले हिसाब गर्दा पनि यस वर्ष स्याउबाट उहाँको आम्दानी झण्डै दुई लाख ३० हजार रुपैयाँभन्दा बढी हुने अनुमान गर्नु भएको छ । तातोपानीको गल्डेङमा रहेको उहाँको बगैँचामा आठ वर्ष अगाडि स्याउ लगाए पनि असिनाले राम्रो भएकोले खुसी लागेको बताउनुभयो । उहाँको आफ्नै बगैँचाको स्याउ टिप्ने तयारी भए पनि अहिले आठ वटा मालबाहक ट्रकमा अरु किसानको स्याउ नेपालगञ्ज, सुर्खेत लिएर व्यापार गरिरहेको बताउनुभयो ।

तातोपानी–२ डाँगीबाडाका किसान नरेन्द्र केसीको बगैँचामा डाँगीबाडामा एकसय र भुलीमा ५५ गरी एक सय ५५ स्याउका बिरुवा विरुवा रोपिएका थिए । डाँगीबाडामाको बगैँचामा १२ केजीको दरले तीन सय २५ कार्टुन स्याउ उत्पादन भएको किसान केसीले जानकारी दिनुभयो । अव बाँकी ५५ वटा बिरुवामा ५० देखि ५५ कार्टुन स्याउ उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनु भयो । प्रतिकेजी ६० रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँभन्दा बढी स्याउ उत्पादन हुने किसान केसीले बताउनुभयो ।

किसान रतबहादुर भण्डारी, तिलबहादुर रावल र नरेन्द्र केसीसहित सयौँ किसान अहिले स्याउ टिप्ने चटारोमा हुनुहुन्छ । भदौको पहिलो सातादेखि रफ्तारमा स्याउ टिप्ने जुम्ली किसानको दैनिकी रहेको छ । जुम्लाका ६० देखि ६५ प्रतिशत बगैँचामा स्याउ टिपि सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीका अनुसार अहिलेसम्म ६० देखि ६५ प्रतिशत बगैँचाका स्याउ टिपिसकिएका छन् । यस वर्ष भने स्याउ उत्पादन घटेको छ । उहाँका अनुसार मौसमको उतारचढावले स्याउमा समेत प्रभाव पारेको छ । मौसमको गडबडीका कारण तुसारोले फूल खाइदिएको र कतै असिनाले स्याउ झारेकाले उत्पादन घटेको छ । सूचना अधिकारी भण्डारीले यस वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको बताउनुभयो । उहाँका अनुसार गएको आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उहाँका अनुसार जुम्लाका १६ हजार घरधुरीले स्याउ खेती गरिरहेका छन् ।

किलोको ६० देखि ७० रुपैयाँमा बिक्री :

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक किसानले गएको वर्षभन्दा राम्रो मूल्य पाएका छन् । सूचना अधिकारी भण्डारीले बगैँचामा ६० देखि ७० रुपैयाँमा बिक्री गरेको बताउनुभयो । किसान रतनबहादुर भण्डारीले आफूले बगैँचामै ७० रुपैयाँमा स्याउ बिक्री गरेको बताउनुभयो ।

यसैगरी स्याउ टिप्ने चटारो सहित व्यापारीहरुले जुम्लाबाट सुर्खेत नेपालगञ्ज, बुटवल, दाङ, धनगढीसहित मुख्य शहरमा यस पटक पनि जुम्लाको स्याउ पुगेको व्यापारी बताउँछन् । जुम्लाका किसानको मुख्य आम्दानीको स्रोतकोरुपमा रहेको स्याउ खेतीमा टिकिरहने प्रयास गरे पनि पर्याप्त कोल्ड स्टोर नहुँदा स्याउ कुहिने र काँचैमा टिप्नुपर्ने हतारोले समस्या ल्याएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया